काठमाण्डौ । लामो समयसम्म ‘पर्ख र हेर’को रणनीतिमा रहेका लगानीकर्ता सलबलाउन थालेका छन् । यहीकारण बुधबार देखिएको आशाको किरणले बजारको सुनौलो बिहानी सन्निकट रहेको प्रष्ट संकेत गरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा शुभै शुभ संकेत देखिएको हो । यो प्रवृति निरन्तर रहे निकट भविष्यमै बजारका लागि सुनौलो घाम उदाउने प्रष्ट देखिन्छ । 

बिहीबार नेप्से परिसूचक ७.०३ अंकले बढेर १४११.५२ विन्दूको उचाईमा पुगेको छ भने कारोबार रकम बढेर करिब ४२ करोडको हाराहारीमा पुगेको छ । 

बजारमा नेप्से परिसूचक र कारोबार रकम नै समानान्तर बढ्नु भविष्यमा बजार राम्रैसँग उकालो लाग्नसक्ने पूर्व संकेत हो । तर, यो  प्रवृति केही दिनसम्म निरन्तर हुनुपर्छ । 

बिहीबार जलविद्युत बाहेकका सबै समूहको सूचक हराभरा भए । बैकिंग  समूह ६.०३ अंकले बढ्यो भने बिमा समूहमा १६.०४ अंकको बढोत्तरी देखियो । यस्तै, विकास  बैंक, बित्त र माइक्रोफाइनान्स समूहमा क्रमशः ८.३२, ०.६५ र १२.४१ अंकको बढोत्तरी भयो । 

यस्तै, होटल समूह ५.४७ अंकले बढ्यो भने उत्पादनमूलक ५.३६, अन्य समूह ९.८८ र व्यापार समूह १.६९ अंकले वृद्धि भए । यो दिन जलविद्युत समूहमा भने १.४९ अंकको गिरावट देखियो ।

बजारमा ‘क’ वर्गका कम्पनीहरुप्रतिको आकर्षण बढेका कारण सेन्सेटिभ इण्डेक्स १.५ अंकले बढ्यो । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४५ अंकको बढोत्तरी भयो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५७ कम्पनीका  ११ लाख  ५६ हजार ३ सय ६० कित्ता सेयर ४१ करोड ७० लाख ९८ हजार ६ सय ४३ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी नेपाल बैंकले ४ करोड २७ लाख बढीको कारोबार गर्यो । यस्तै, लक्ष्मी बैंकले ३ करोड ३४ लाख, सानिमा माई हाइडोले २ करोड ८५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २७ लाख, कुमारी बैंकले २ करोड २२ लाख, सानिमा बैंकले १ करोड ५१ लाख बढीको कारोबार गरे ।

यस्तै, बुटवल पावर कम्पनीले १ करोड ४८ लाख, नवील बैंकले १ करोड ३७ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ३६ लाख र सिद्धार्थ बैंकले १ करोड २८ बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले पैसा छापे । यो कम्पनीको सेयर मूल्यमा ९.४५ प्रतिशतको बढोत्तरी भयो । 

यस्तै, यूनाइटेड फाइनान्सले यो दिन सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य २.२७ प्रतिशतले घट्यो । सिद्धार्थ बैंकका लगानीकर्ताले समेतत २.११ प्रतिशतले सम्पत्ति गुमाए ।