काठमाण्डौ । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपालमा सहज रुपमा पर्यटक भित्र्याउन सलाम एयरले आफ्नो काठमाडौं उडानमा हालको हप्ताको तीन दिनबाट बढाएर सातै दिन उडान शुरु गर्ने भएको छ । 

सलाम एयरको नेपाल जीएसएआइएमई ट्राभलद्वारा आइतबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उक्त विषयमा जानकारी प्रदान गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथी एवम् संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले सलाम एयरको उक्त निर्णयले ‘पर्यटन वर्ष २०२०’लाई सफल बनाउन सहयोग पुग्ने बताए । 

नेपालमा आउने पर्यटकहरूको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको बताउँदै मन्त्री भट्टराईले ‘पर्यटन वर्ष २०२०’ को अवसरमा एयरलाइन्स कम्पनीहरूको व्यापार–व्यवसाय प्रवद्र्घनमा थप योगदान पुग्ने उल्लेख गरे । 

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सलाम एयरको सेवा विस्तारपछि वैदेशिक रोजगारीका क्रममा मध्यपूर्व लगायत विश्वमा रहेका नेपालीहरुलाई थप सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै विदेशी पर्यटक भित्र्याउन समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले सलाम एयरको सेवाविस्तारसँगै आगामी वर्ष एक लाख (१ लाख ) पर्यटकलाई सेवा दिने कम्पनीले लक्ष्य लिएको बताए । 

सलाम एयरका कमर्सीयल डाइरेक्टर माजीनअल सलमानीले मध्यपूर्वमा धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका र नेपाल आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्यमुलुक भएको कुरालाई ध्यान दिएर आइएमई ग्रुपसँगको सहकार्यमा हवाई सेवा विस्तार गरिएको जानकारी दिए । 

सलाम एयरका हेड अफ सेल्स मोहम्मदअल देसुकीले आइएमई ट्राभल जस्तो विश्वसनीय व्यवसायिक साझेदार नेपालमा पाइएकाले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न सहज हुने बताए । 

कार्यक्रममा एक्सेल, हार्भेस्ट मुन, हेल्लो, लाइट, मेचीकाली, मुस्कान, वोपन वे, प्रयास, रसिता र सी लिंकगरि कुलदश (१०) ट्राभल एण्ड टुर्स एजेन्टहरुलाई सम्मानित गरिएको थियो ।