काठमाण्डौ । सरकारी कार्यालयहरुमा हुने घूसखोरीको मामलामा यातायात व्यवस्था कार्यालय तथा मालपोत कार्यालयहरु प्राय बदनाम छन् । पछिल्लो समय केही यातायात व्यवस्था कार्यालयहरुबाट हुने सवारी चालक अनुमतिपत्र वितरण कार्यमा ठूलो चलखेल भइरहेको खबरहरु सार्वजनिक भइरहेको समयमै यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन् । 

यो प्रकरणमा केही ड्राइभिङ स्कूल संचालक, दलाल तथा ट्राफिक प्रहरीका स्थानीय हाकिमहरु समेत मुछिने देखिएको छ । 

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा अयोग्य हजारौंलाई उत्तीर्ण गराई ५ करोड बढी घूस लेनदेख भएको देखिएपछि यातायात व्यवस्था मन्त्रालयले सुवेदीलाई निलम्बन गरेको स्रोतले बताएको छ । 

गत भदौ महिनामा नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रका लागि आवेदन खुलाएको थियो । सो क्रममा २३ हजार बढीले आवेदन दिएका थिए । आवेदकमध्ये ९० प्रतिशत बढीबाट मोटो रकम लिएर लिखित परीक्षाको उत्तरपुस्तिका नै जाँच नगरी पास गरिएको र यो खेलमा ५ करोड बढीको घूस लिइएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि सुवेदीलाई निलम्बन गरिएको मन्त्रालयस्थित स्रोतको दाबी छ । 

स्रोतका अनुसार सुवेदीलाई निलम्बन गरिएको पत्र पठाउँदै २४ घन्टाभित्र यातायात व्यवस्था विभाग काठमाण्डौमा हाजिर हुन निर्देशन दिइएको छ । यो प्रकरणमा सुवेदी प्रमुख रहेको कार्यालयका डेढ दर्जन बढी कर्मचारी समेत मुछिएका छन् । उनीहरुमध्ये केहीलाई स्पष्टीकरण सोधिएको छ भने केहीलाई सुवेदीको बयान लिएपछि निलम्बन गर्न सकिने बताइएको छ । 

यो प्रकरणमा केही ड्राइभिङ स्कूल संचालक, दलाल तथा ट्राफिक प्रहरीका स्थानीय हाकिमहरु समेत मुछिने देखिएको छ ।