काठमाण्डौ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित रुपमा लिँदै आएको वस्तुगत ज्ञानसम्बन्धी परीक्षा अब कम्प्युटर प्रणालीबाट लिने तयारी गरेको छ । लिखित परीक्षामा अनियमितता भएको पाइएपछि विभागले कम्प्युटर प्रणालीबाट वस्तुगत परीक्षा लिने व्यवस्था लागू गर्न लागेको हो ।

सवारी लाइसेन्सका लागि वस्तुगत परीक्षा दिन चाहनेले अनलाइन फारम भर्नुपर्नेछ । अनलाइन फारम भरेपछि कम्प्युटर प्रणालीमार्फत लिइने वस्तुगत परीक्षाको मिति स्थान र समय विभागले उपलब्ध गराउनेछ । त्यसपछि परीक्षार्थीले विभागबाट उपलब्ध समयमा सम्बन्धित यातायात कार्यालयमा गएर कम्प्युटरमार्फत वस्तुगत परीक्षा दिन सक्ने विभागका सूचनाअधिकारी तीर्थराज खनालले जानकारी दिए ।

खनालका अनुसार कम्प्युटर प्रणाली पहिले नै प्रश्न सेट गरिएको हुनेछ र परीक्षार्थीले दिइएको समयमा उक्त प्रश्न सेट हल गरेलगत्तै ऊ उत्तीर्ण र अनुत्तीर्ण भएको थाहा हुनेछ । कम्प्युटर प्रणालीबाट परीक्षा लिँदा अनियमितता अन्त्य हुनुका साथै सवारी लाइसेन्सनका आकांक्षीमा सवारीसाधनसँगै ट्राफिक नियमसम्बन्धी जानकारी राख्ने बानी पनि विकास हुने उनको भनाइ छ ।

विभागले यो व्यवस्था लागू गर्न अहिले सफ्टवेयर तयार पारिरहेको छ । यसका लागि केही महिना लाग्ने बताइएको छ ।

यसैबीच विभागले वस्तुगतपछि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) को संरचनामा पनि परिवर्तन गर्ने तयारी गरिरहेको छ । ठूला सवारीसाधनका लागि लिइने ट्रायलमा परिवर्तन गर्न लागिएको बताइएको छ ।

विभागका अनुसार ठूला सवारीसाधनको लाइसेन्स लिनका लागि अब उम्मेदवार मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिने कोर्स लिएको हुनुपर्ने प्रस्ताव गर्न लागिएको छ । यो कोर्समा गाडी चलाउनेदेखि सवारीसाधनका विषयमा जानकार र यात्रुसँग गर्ने व्यवहारलगायतका कुरा समावेश गरिएको हुनुपर्नेछ ।