काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा बुधबारदेखि दरखास्त खुलाएको छ ।

सशस्त्र प्रहरी बलले बुधबार नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै प्रहरी निरीक्षकमा ५८ र प्रहरी सहायक निरीक्षकमा २३९ गरी कुल २९७ पदमा दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरी निरीक्षकको कुल पदमा ३१ जना खुला, ९ जना आदिवासी जनजाति, ७ जना मधेसी, ५ जना महिला, ४ जना दलित र अमर/अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्तति तथा पिछडिएको क्षेत्रबाट १/१ जनाको कोटा छुट्याइएको छ ।

यसैगरी सशस्त्र प्रहरी सहायक निरीक्षकको कुल पदमा खुला १२८, आदिवासी जनजाति ३५, मधेसी ३०, महिला २२, दलित १६, पिछडिएको क्षेत्र ५ र अमर/अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्तति ३ जनाका लागि कोटा छुट्याइएको छ ।

सशस्त्र प्रहरी निरीक्षक पदमा दरखास्त दिन उम्मेदवारले मान्यता प्राप्ति शिक्षण संस्थाबाट स्नातक वा सोसरह उपाधि हासिल गरेको हुनुपर्नेछ भने उमेर हद २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिन मान्यता प्राप्ति विश्वविद्यालयबाट प्रमाणपत्र वा सोसरहको उपाधि प्राप्त गरेको हुनुपर्नेछ भने उमेरको हद १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ ।

दरखास्त दिने अन्तिम मिति पुस १७ गतेसम्म तोकिएको छ । दरखास्त फाराम सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय काठमाण्डौको हलचोक, १ नं. बराह बाहिनी मुख्यालय पकली सुनसरी, २ नं. छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरी, ३ नं. गढीमाई बाहिनी मुख्यालय मकवानपुर, ४ नं. मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्की, ५. नं. विन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु, ६ नं. महेश्वरी बाहिनी मुख्यालय बांगेसिमल सुर्खेत र ७ नं. वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीमा बुझाउन सकिनेछ ।