काठमाण्डौ। मूल्य सस्तो भएको बेलामा चीनले यो गर्मीयाममा ठूलो परिमाणमा कच्चा तेल खरिद गरेको छ। जसका कारण अहिले सामुद्रिक किनारमा कच्चा तेल अपलोडको पर्खाइमा ट्यांकरहरुको विशाल ट्राफिक जाम नै खडा भएको छ। 

चीन अमेरिकापछि तेल उपभोग गर्ने विश्वकै दोस्रो ठूलो देश हो। क्लिपरडेटाका अनुसार जुन २९ सम्म चीनको उत्तरी सामुद्रिक किनारामा ७ करोड ३० लाख ब्यारेल तेलबोकेका ५९ वटा पानी जहाजहरु तैरिरहेका छन्। तेलको यो मात्रा सम्पूर्ण विश्वको तीनवटा त्रैमासको मागबराबर हो। 

चीनमा अहिले आइपुगेका ब्यारेलहरु महामारीका कारण तेलको मूल्य कम भएका बेला अर्थात मार्च र अप्रिल महिनामा खरिद गरिएको थियो। अप्रिल २० मा अमेरिकी कच्चा तेलको मूल्य पहिलोपटक शून्यभन्दा तल पुगेको थियो। 

क्लिपर डेटाले तैरिएर गरिने चीनको तथाकथित भण्डारणलाई वास्तवमा जहाजहरुमा ७ दिन या त्योभन्दा धेरै समयसम्म प्रतीक्षा गर्ने ब्यारेलका रुपमा परिभाषित गरेको छ। जुन मे महिनाको अन्त्यबाट चारगुणाले वृद्धि भएको छ। 

समुद्रीसतहमा तेल भण्डारण गर्नुलाई ऊर्जा क्षेत्रमा संकट उत्पन्न भएकोे बेला चीनले तेलको मूल्यमा गरेको मोलमलाइका रुपमा हेरिएको छ। चीनले ठूलो परिणाममा तेल खरिद गरेपछि लडखडाएको तेल बजारले गति लिएको थियो। 

अमेरिकामा तेलको मूल्यको प्रतिब्यारेल माइनस ४० डलर पुगेको सात हप्तामै फेरि प्रतिब्यारेल ४० डलर पुगेको थियो। ओपेक र रुसले आपूर्तिमा गरेको कटौती, विश्वभर लागू गरिएका प्रतिबन्धहरुलाई खुकुलो पारेसँगै र चीनको मागमा देखिएको बलियो पुनरागमनका कारण तेलको मूल्यमा ८० डलरको स्विङ (वृद्धि) देखिएको थियो। 

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको चीन आफ्नो अर्थतन्त्रलाई चलायमान राख्न मुख्य रुपमा विदेशी कच्चा तेलमा भर पर्ने गर्दछ। जसका कारण चीनले मूल्य घटेका बेला तेलको भण्डारण बढाएको हो। ११.३ मिलियन ब्यारल प्रतिदिनको रेकर्ड चुम्नुभन्दा अघि गत मे महिनामा चीनको तेल आयातमा १९ प्रतिशतको वृद्धि देखिएको थियो। तर जुन महिनामा विदेशबाट आयात भएको तेलको मात्राले यो रेकर्ड तोडेको अनुमान लगाइएको छ। यीमध्ये अधिकांश तेल लेटिन अमेरीकी देशहरुबाट आयात गरिएको थियो। 

क्लिपर डेटाका अनुसार चीनलाई सबैभन्दा धेरै तेल निर्यात गर्ने लेटिन अमेरिकी देशको सूचीमा ब्राजिल अग्रस्थानमा आउँछ। ब्राजिलबाट तेलको जहाज चीन आइपुग्न डेढ महिना लाग्ने गर्दछ। 
चीनमा अधिकांश तेल इराक, साउदी अरेयिबा र नाइजेरियाबाट समेत आयात हुने गर्दछ। तेलको मूल्य घटेको बेला तेलको भण्डारण गर्ने चीन एक्लो देश भने होइन। अन्य देशको तुलनामा चीनले अत्यधिक मात्रामा तेलको भण्डारण बढाएको भने हो। – एजेन्सी