काठमाण्डौ । नेपाल राष्ट्रबैंकले शुक्रबार आर्थिक वर्षको पहिलो महिना साउन मसान्तसम्मको समीक्षा सार्वजनिक गर्दै सबैभन्दा कम महंगी उपत्यकामा रहेको बताएको छ । 

राष्ट्रबैंकका अनुसार साउन मसान्तसम्म उपत्यकाको मुद्रास्फिति १.३ प्रतिशत मात्र रह्यो । सबैभन्दा बढी मुद्रास्फिति चाहि हिमालमा रहेको छ, जहाँ ५.६ प्रतिशत महंगी रहेको हो । 

पहाड भन्दा तराईमा महंगी बढेको देखिएको छ । पहाडमा २.२ प्रतिशतमा सीमित मुद्रास्फिति तराईमा भने २.८ प्रतिशत रहेको छ । 

भारत भन्दा नेपाल सस्तो !
२०७४ साउन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत र भारतको ३.४ प्रतिशत रहेकाले यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर १.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ८.६ प्रतिशत र ५.१ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ३.५ प्रतिशत रहेको थियो ।

उपभोक्ता मुद्रास्फीति 
२०७४ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७ प्रतिशत रहेकोमा २०७४ साउन महिनामा केही न्यून भई वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.६ प्रतिशत रहेको थियो । गत वर्षको आधार मूल्य उच्च रहेकाले समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो।

खाद्य मुद्रास्फीति
समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.३ प्रतिशत रहेको थियो। यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३.३ प्रतिशत, तरकारीको मूल्यमा ११.७ प्रतिशत, मसलाको मूल्यमा ३.५ प्रतिशत र फलफूलको मूल्यमा १.४ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो ।

गैर–खाद्य मुद्रास्फीति
 समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ४.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति ८.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

थोक मुद्रास्फिति कति ?
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दर १.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.६ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ३.८ प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क ०.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ९.६ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क २.८ प्रतिशतले घटेको थियो ।