काठमाण्डौ ।कुनै समय अर्काको घरमा घरेलु कामदारको रुपमा काम गर्ने कम्लहरीहरु अहिले सहकारीमा सक्रिय भएर जीवन सुधारको बाटोतर्फ उन्मुख भएका छन् । अहिले कम्लहरी उद्धार गरिएका दाङ, बाँके बर्दिया, कैलाली र कञ्चनपुरमा जिल्लामा सहकारी सञ्चालन भएका छन् ।
 
हालसम्म कम्लहरी मुक्त गरिएका सबै जिल्लामा ४२ वटा सहकारी दर्ता भएर सञ्चालनमा आएका छन् । ती सहकारीले कम्लहरीलाई प्रत्यक्षरूपमा संलग्न गराई आर्थिक क्रियाकलापको काम गरिरहेको पूर्वकम्लहरी उर्मिला चौधरी बताउनुहुन्छ । “हाम्रो सहकारीले पूर्वकम्लहरीलाई निःशुल्क सीप सिकाउने र निःशुल्क ऋण उपलब्ध गराउने गरेको छ । मैले पनि सहकारीबाट ऋण लिएर किराना पसल गरेको हुँ”, उहाँले भन्नुभयो ।
 
सहकारीले घुम्तीकोष, मासिक बचतमार्फत रकम सङ्कलन र ऋण लगानीसँगसँगै मुक्त कम्लहरीलाई तरकारी खेती, बाख्रापालन, बङ्गुरपालन, कुखुरापालन, किराना तथा फलफूल पसल सञ्चालन र अन्य व्यवसाय सञ्चालनका लागि पनि सीप तथा ऋण दिने काम गरिरहेको उहाँले बताउनुभयो । यसबाट प्रत्यक्षरूपमा मुक्त कम्लहरीको आर्थिक स्थितिमा टेवा पुगेको र आत्मनिर्भरतर्फ उन्मुख गरेको उहाँको अनुभव छ । 
 
स्थापनाकालदेखि नै लावाजुनी सहकारीमा आबद्ध मुक्त कम्लहरी विकास मञ्चकी निवर्तमान अध्यक्ष सुनिता चौधरी मुक्त कम्लहरीले सहकारीमार्फत लाखौँको कारोवार गरिरहेको भन्दै खुशी व्यक्त गर्नुहुन्छ । सहकारीमा आबद्ध भएकै कारण अधिकांश पूर्वकम्लहरीहरु अहिले छोटो तथा लामो समयको तालीम लिएर व्यवसायी बनेका छन् ।
तालीम मात्र होइन, मुक्त भएका कम्लहरी बिना ब्याजको ऋण पाएर चिया, खाजा, बाख्रापालन, सिलाइकटाइ, तयारी पोशाक, जुत्ता बनाउने, अनमी, जेटिए, ल्याब एसिस्टेन्ट, अटोमोबाइल आदि व्यवसायमा संलग्न रहेका छन् ।  
 
“अहिले पूर्वकम्लहरीहरुले सहकारीको सहयोगमा धेरै आर्थिक उपार्जनका काम गरिरहेका छन्” मुक्त कम्लहरी विकास मञ्चकी पूर्वअध्यक्षसमेत रहनुभएकी चौधरीले भन्नुभयो, “अब त सहकारीको विषयमा तालीम, प्रशिक्षण दिने, विभिन्न व्यवसायका लागि सीप सिकाउनसमेत उनीहरु सक्षम भइसकेका छन् ।”
लामो समयसम्म मुक्त कम्लहरीको क्षेत्रमा काम गरिरहेको मुक्त कम्लहरी विकास मञ्चका अनुसार अहिले मुक्त कम्लहरीहरुले स्थापना गरेको सहकारीमा ४८ प्रतिशत मुक्त कम्लहरी, १८ प्रतिशत उनीहरुको परिवार र ३४ प्रतिशत अन्य परिवारहरु आबद्ध छन् ।
 
सहकारीको नेतृत्व गरिरहेको मुक्त कम्लहरी विकास मञ्चले दिएको जानकारीअनुसार सहकारीमा हाल करीब १२ हजार १४४ शेयर सदस्य पुगेका छन् । यसमा संलग्न पाँच हजार ८०० मुक्त कम्लहरीले मासिक तथा दैनिक बचत गरिरहेका छन् ।
 
मञ्चका अनुसार पूर्वकम्लहरीले स्थापना गरेको सहकारी कोषमा हालसम्म रु सात करोड ९८ लाख ५२ हजार ७२० रहेको छ । मुक्त कम्लहरी विकास मञ्चले उपलब्ध गराएको घुम्ती कोषमा रु एक करोड पाँच लाख ४४ हजार १६ गरी जम्मा रु नौ करोड तीन लाख ९६ हजार ७३६ पूँजी पुगेको छ । सहकारीबाट ऋण लिएर मात्रै करीब ३८७ जना मुक्त कम्लहरीले व्यवसाय गरिरहेको मञ्चले जनाएको छ भने सहकारीमार्फत नै एक हजार ७२१ ले छोटो अवधिको र ४४८ जनाले लामो अवधिको तालीम लिई रोजगार तथा स्वरोजगारतिर उन्मुख भएका छन् । यस वर्ष मात्रै ३४० जनाले छोटो अवधिको तालीम लिएर रोजगारका लागि सक्षम बनेको मञ्चले जनाएको छ ।