काठमाण्डौ । सहकारी क्षेत्रमा अर्थिक वर्ष २०७२/७३ मा रु दुई खर्ब दुई अर्ब बचत परिचालन भएको छ । 

सहकारी विभाग र मातहतका कार्यालयबाट आव २०७२/७३ मा सञ्चालित कार्यक्रमबारे यहाँ आयोजित वार्षिक समीक्षा गोष्ठीमा मुलुकलाई समृद्धिमा लैजान सरकारले अघि सारेको तीन खम्बे अर्थनीतिको मेरुदण्डको रुपमा रहेको सहकारीमा सो बचत रकम परिचालन भएको जनाइएको हो ।

प्रस्तुत वित्तीय कारोबारको विवरणमा सहकारी सङ्घ संस्थाको सेयर पुँजी रु ६३ अर्ब, सहकारी कोषको रकम रु ६ अर्ब ८० करोड रहनुका साथै लगानी रु एक खर्ब ८८ अर्ब पुगेको जानकारी दिइयो । 

मुलुकमा हाल प्रारम्भिक सहकारी संस्थाको सङ्ख्या ३३ हजार २८९ छ । 

सहकारीका जिल्ला सङ्घ ७०, विषयगत जिल्ला सङ्घ २५३, विषयगत केन्द्रीय सङ्घ २०, राष्ट्रिय सहकारी सङ्घ र राष्ट्रिय सहकारी बैँक एक–एक छन् । 

मुलुकभरका सहकारी सङ्घ संस्थामा २३ लाख ९० हजार ९४९ महिला र २८ लाख, नौहजार ८३८ पुरुष सदस्य छन् । त्यसैगरी सञ्चालक समितिमा ९१ हजार ६१८ महिला रहेको प्राप्त तथ्याङकमा उल्लेख छ । अघिल्लो वर्ष मुलुकका १०० वटा सहकारी समायोजन गरिएका थिए । 

यसैबीच, गोष्ठी उद्घाटन गर्दै सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी क्षेत्रमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि कर्मचारीले एक फड्को अघि बढेमा आफू दुई फड्को अघि बढ्न प्रयास गर्ने अठोट व्यक्त गरे । 
उनले भने–‘मुलुक बनाउने भावना लिएर सामूहिकरुपमा जिम्मेवार, इमान्दार र लगनशील भएर काम गर्न आवश्यक छ । तपाईहरुबाट सहयोग भएमा म १८ घन्टासम्म काम गर्न तयार छु ।’

गरिबीसँग जोडिएका योजना र कार्यक्रमलाई मन्त्रालय मातहतमा ल्याउन आफूबाट सक्दो प्रयास हुने बताउँदै मन्त्री थामीले नीति बनाउने तर कार्यान्वयमा ध्यान नदिने हाम्रो चरित्रलाई बदल्न आवश्क छ भने । 

राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका उपाध्यक्ष एवम् सांसद ओमदेवी मल्लले सहकारी क्षेत्रमा किन समस्या आए, के चुनौती छ र अब कसरी अघि बढ्दा लक्ष्यअनुरुपको नतिजा हासिल गर्न सकिन्छ भन्नेमा कर्मचारीको सकारात्मक प्रयास आवश्यक छ भनिन् । 

उनले थपिन्–‘समस्या मात्र देखाएर सहकारी क्षेत्र खतम छ भन्दा कदापी राम्रो नतिजा हासिल गर्न सकिदैन, समस्या मात्र तेस्र्याउने समाधनको माग नदेखाउने प्रवृतिलाई हटाउनुपर्छ ।’ 

सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले अर्थतन्त्रको नियमक निकायको रुपमा रहेको सहकारी विभागका कर्मचारीलाई सरकारी क्षेत्रलार्ई नतिजामुखी तुल्याउने गरी कार्यसम्पादन गर्न निर्देशन दिए । 

सहकारी विभागका रजिष्टार केशवप्रसाद रेग्मीले मुलुकमा सहकारीको विकास र विस्तारसँगै विसङ्गतिसमेत भित्रिएकाले त्यसलाई हटाउन अनुगमन समयन्त्रलाई थप सुदृढ तुल्याइने प्रतिवद्धता व्यक्त गरे ।