काठमाण्डौ । कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेड जापान र कोबेल्को कन्सट्रक्सन इक्विप्मेन्ट इन्डिया प्रालिले दुईवटा जापानी कम्पनीहरुः तोहोकु कुरोसावा केन्सेत्सु कम्पनी प्रालि र हासिमोतो केन्की कम्पनी लिमिटेडले मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारीलाई सहयोग स्वरुप उपलब्ध गराएको एसके३५एसआर–६ मोडलको एउटा कोबेल्को मिनी एक्साभेटर र एउटा हाइड्रोलिक रक ब्रेकर हस्तान्तरण गर्न बिहीबार एक कार्यक्रम आयोजना गरेका छन । ती कम्पनीहरुले नेपालमा परोपकारी कार्यका लागि ती उपकरणहरु निःशुल्क उपलब्ध गराएका हुन । 

ताहोकु कुरोसावा केन्सेत्सु कम्पनी लिमिटेड जापानको निर्माण कम्पनी हो । कम्पनीका सिइओ मासायुकी सातोले नेपालमा किन्डरगार्टन स्थापना र पानी आपूर्तिसम्बन्धी काम सहयोगको रुपमा गर्दै आउनुभएको छ । नेपाली समाजलाई थप योगदान होस भनेर सातो र उनको कम्पनीले एक थान कोबेल्को मिनी एक्साभेटर एसके३५एसआर–६ प्रदान गरेको हो ।

मिनी एक्साभेटरका अलाबा हासिमोतो केन्की कम्पनी लिमिटेडले सोही एक्साभेटरमा लाग्ने एक थान हाइड्रोलिक रक ब्रेकर पनि निःशुल्क उपलब्ध गराएको छ । कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेडले उक्त मेसिनको ढुवानी र भन्सारसम्बद्ध खर्च बेहोरेको जनाएको छ ।

उक्त समारोहमा पाल्पा र मित्यालका दुर्गम क्षेत्रका बासिन्दाको सेवामा जीवनका अढाई दशक बिताएका ओके बाजेले मेसिन बुझेका थिए । 

स्थानीयबासीको जीवनस्तर उकास्ने सम्बन्धी कामका लागि बाजे प्रख्यात हुनुहुन्छ । समारोहमा कोबेल्को इन्डिया र पूजा कन्सट्रक्सनका प्रतिनिधि पनि सहभागी थिए । उक्त मेसिनको बिक्रीपछिको सेवा पूजा कन्सट्रक्सनले उपलब्ध गराउँछ । यतिबेला नेपालमा सात सयभन्दा बढी कोबेल्को एक्साभेटर सञ्चालनमा छन, जसलाई पूजा कन्सट्रक्सन नेपाल प्रालिले सहयोग गरेको छ । 

पत्रकार सम्मेलनमा कोबेल्को कन्सट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिको नेपाल बिजनेस हेर्ने जिएम योगेश खुरानाले भने, ‘हामी परोपकारी कार्यको लागि आयोजना गरिएको यो समारोह र नेपालको दुर्गम इलाकामा मानवीय काम गर्दै आएको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारीको एक हिस्सा हुन पाउँदा निकै खुसी छौं ।’