काठमाण्डौ । ललितपुरमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको सहकारी पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले सहकारी–सहकारी बीच बृहत एकीकरण अभियान  सञ्चालन गर्ने भएको छ । ७७ जिल्ला र ७५३ स्थानीय तहका संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्यसहित बृहत एकीकरण अभियान संचालन गर्न लागेको हो ।

बृहत एकीकरणका लागि सञ्चालन गर्नका लागि पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले २२ औं साधारणसभाबाट निर्णय गरी अध्यक्ष सिवी लामाको संयोजकत्वमा मर्जर कमिटी समेत निर्माण गरेको छ । यही समितिमार्फत एकीकरणका लागि इच्छुक सहकारी संस्थाहरुका साथै सरोकारवालाहरुसँग सहजीकरण र समन्वय सुरु गरिएको छ । 

संविधानमै अर्थतन्त्रको एक खम्बा मानिएको सहकारी अभियानबाट राज्यले राखेको उद्देश्य पूरा गर्नका लागि बृहत एकीकरण अभियान संचालन गर्न लागिएको संयोजक लामाले जानकारी दिए ।

अहिले सहकारी अभियानमा ३५ हजार संघसंस्था दर्ता भएपनि देशको अर्थतन्त्रमा सहकारीको योगदान न्यून छ । संस्थाहरु स–सानो हुँदा पुँजी छरिन गई सहकारीमार्फत अत्याधुनिक सेवा प्रदान गर्न र ठूला ठूला परियोजनाहरुमा लगानी समेत गर्न सकिएको छैन । यहि कारण पूँजीगत आधार बलियो भएको दिगो सहकारी संस्था निर्माण गरी त्यसमार्फत सदस्यलाई प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रदान गर्ने र सहकारीमार्फत उत्पादनमुलक ठूला उद्योग तथा व्यवसाय संचालन गर्ने लक्ष्य रहेको संयोजक लामाले बताए । 

संघीय सरकारले आर्थिक वर्ष २०७७÷०७८ बजेट वक्तव्यमा पनि सहकारीसंस्थाहरुलाई एकीकरणका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको छ । यसैगरी संघीय सहकारी विभागका साथै राष्ट्रिय सहकारी महासंघलगायतका संघसंस्थाले पनि सहकारी एकीकरणलाई प्रोत्साहन गरिरहेका छन् ।