काठमाण्डौ । सहयोगी विकास बैंक लिमीटेडको वार्षिक साधारणसभाले १ः०९१७५ को सेयर स्वाप अनुपातमा सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडमा बिलय हुने प्रस्ताव पारित गरेको छ । 

जेठ २४ गते शनिवारको दिन बैंकको केन्द्रीय कार्यालय जनकपुरमा सम्पन्न १६ औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । 

बैंकका अध्यक्ष उदयकान्त झाको अध्यक्षतामा सम्पन्न एजीएमले सहयोगी बिकास बैंकको १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९१.७५ कित्ता (१ः०.९१७५) शेयर हुने गरी शेयर स्वाप अनुपातको प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ । 

सभाले सहयोगी बिकास बैंकलाई सिटिजन बैंक इन्टरनेशनल लिमीटेडले प्राप्ति गर्ने सम्बन्धमा भएका सहमतीपत्र, संयुक्त मर्जर समितिको निर्णयहरु, अन्तिम सहमति/सम्झौता पत्र तथा सम्झौताहरु, डीडीए अडिटरको नियुक्ति तथा पारिश्रमिक सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । 

साथै सहयोगी बिकास बैंकको तर्फबाट सिटिजन्स बैंक इन्टरनेशनलमा विलय गर्ने सम्बन्धमा नियमनकारी निकायहरुमा गर्नुपर्ने विविध कार्यहरु गर्न गराउन, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यकता अनुसार फेरबदल गर्न बैंकको हालको संचालक समितिलाई सम्पूर्ण अख्तियारी दिने प्रस्तुत प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । 

बैंकले आ.ब. २०७५/७६ को मुनाफाबाट आफनो शेयरधनीहरुलाई १८.७२१५ प्रतिशत नगद लांभाश दिने प्रस्ताव समेत पारित गरेको छ । 

सहयोगी विकास बैंकलाई प्राप्ति गर्न सिटिजन्स बैंक इन्टरनेशल लिमीटेडले जेठ २७ गते विशेष साधारणसभा आह्वान गरेको छ ।