काठमाण्डौ । सहायक कम्पनी बिना नै ब्रोकरेज सेवा प्रवाह गर्न पाउने भनी अर्थ समितिमा गभर्नर डा. चिरञ्जिवी नेपालले भाषण गरेको भोलिपल्ट नेपाल राष्ट्रबैंकले भने सहायक कम्पनीमार्फत मात्र वाणिज्य बैंकहरुले ब्रोकरेज सेवा दिनसक्ने व्यवस्था गरेको छ । 

अर्थमन्त्रीबाट गठित अध्ययन कार्यदलको सुझाव कार्यान्वयन गर्दै केन्द्रीय बैंकले आफ्नो ५१ प्रतिशत स्वामित्व कायम हुने गरी वाणिज्य बैंकले सहायक कम्पनी खोलेर त्यसमार्फत ब्रोकरेज सेवा दिन सक्ने व्यवस्था गरिदिएको हो । 

ब्रोकरेज सेवा दिने सहायक कम्पनीमा लगानी गर्दा वित्तीय स्वार्थ स्थापित हुने भएकोले त्यस्तो सहायक कम्पनीमा गरिएको कुल लगानी रकमलाई पूँजीकोष गणना गर्दा प्राथमिक पूँजीबाट घटाई पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । 

यसैगरी, धितोपत्र व्यवसायी सम्बन्धी कार्य गर्ने सहायक कम्पनी स्थापना प्रयोजनका लागि वाणिज्य बैंकले संगठित संस्थाहरुको सेयर तथा डिवेञ्चरमा लगानी गर्दा लगानी हुने संस्थाको चुक्तापूँजीको अधिकतम १० प्रतिशतको सीमामा छुट प्रदान गरिएको छ ।

बैंकहरुले त्यसरी स्थापना गरेको सहायक कम्पनीको नियमन धितोपत्र बोर्ड र नेपाल राष्ट्रबैंकले संयुक्त रुपमा गर्ने निर्देशनमा उल्लेख छ ।

वाणिज्य बैंक र सहायक कम्पनीबीच हुने कारोबारमा वित्तीय स्वार्थ हुने हुँदा त्यस्तो कारोबारलाई दुवै कम्पनीले सम्बन्धित पक्षबीच हुने कारोबार शीर्षक अन्तर्गत उल्लेख गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । त्यस्तो कारोबार भएपछि नियमित रुपमा प्रकाशन गर्नुपर्ने वित्तीय विवरणमा सो कारोबारबारे विस्तृत जानकारी प्रदान गर्नुपर्नेछ । 

त्यसरी स्थापित सहायक कम्पनीले आफूले जारी गरेको वा आफ्नो मुख्य कम्पनीले जारी गरेको धितोपत्रको कारोबार गर्न पाउने छैन् ।

यस्तै, त्यस्ता सहायक कम्पनीहरुले वित्तीय स्रोत संकलन गर्ने प्रयोजनले दायीत्व स्वरुप निश्कासन गर्ने कुनै पनि सुरक्षणपत्रहरुमा मुख्य कम्पनीले लगार्न गर्न नपाउने र सो सुरक्षणपत्रको धितोमा कर्जा समेत प्रवाह गर्न पाउने छैन ।