काठमाण्डौ । नेपाली सेनाका एक सहायक रथीको समेत मिलेमतोमा कृषि विकास बैंक लिमीटेड काठमाण्डौ न्यूरोडस्थित मुख्य शाखा कार्यालयबाट ४ करोड ९१ लाख रुपैयाँ ठगी गरिएको रहस्य खुलेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)का अनुसार बैंकका कर्मचारीको मिलेमतोमा ठगिएको रकममध्ये ७० लाख रुपैयाँ नेपाली सेनाका एक सहायक रथीको खातामा भेटिएपछि यो प्रकरण बाहिर आएको हो । 

नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत सहायक रथी डा. रमेश बिष्टको बैंक खातामा ७० लाख रकम जम्मा भएको देखिएसँगै उनको संलग्नता समेत खुलेको हो ।

अन्तरशाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङमा देखाएर बैंकको रकम मिलेमतो गरी निकालेको आरोपमा प्रहरीले बैंक कर्मचारीसहित तीनजनालाई हिरासतमा लिएपछि सहायक रथीसम्मको कनेक्सनको रहस्य खुलेको हो । 

बैंकबाट ग्राहकको करिब रू. ४ करोड ९१ लाख रुपैयाँ रकम हिनामिना गर्ने कार्यमा संलग्नताको आरोपमा प्रहरीले कृषि विकास बैंक न्यूरोड शाखा कार्यालयकी सहायक टेलर दीपिका रेग्मीलाई पहिला पक्राउ गरेको थियो । यो प्रकरणमा उनको मूख्य भूमिका देखिएको थियो । रेग्मीको बयान र नेपाल राष्ट्र बैंकको पत्रको जाहेरीको आधारमा ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट अन्य २ लाई समेत पक्राउ गरिसकेको छ । पक्राउ परेका अन्य दुुईमा कृषि विकास बैंक न्यूरोड शाखामै कार्यरत उनका सहयोगी (अर्दली) रमेशकुमार थापा र दुर्गा ज्वेलर्स बालाजुका सञ्चालक प्रकाश घतानी रहेका छन् । उनीहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उच्च अदालत पाटनबाट पाँच दिनको म्याद लिई अनुसन्धान थप तीव्र पारिएको सीआइबीले जनाएको छ। 

बैंक कर्मचारी रेग्मीले विभिन्न व्यक्ति वा संस्थाले विभिन्न बैंकको चेकमार्फत कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको इलेक्ट्रिक चेक क्लियरेन्स(ईसीसी) मार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरिदिइसकेपछि उक्त भुक्तानी गरेबापतको रिपोर्टलाई इडिट गरी सोही चेकलाई प्रयोग गरी पुनः ईसीसीमार्फत कृषि विकास बैंकमा रहेको सहायक रथी बिष्टलगायत आफू निकटस्थहरुको खातामा जम्मा गर्ने गरेको खुलेको छ । यस्तै, सो रकम सुनचाँदीलगायतका अन्य सामग्री किन्न प्रयोग गरिएको समेत अनुसन्धानबाट खुलेको छ । 

स्रोतका अनुसार बैकिङ ठगीमा संलग्नता देखिएपछि सीआईबीको टोलीले बिष्टलाई गत हप्ता नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछको क्रममा उनी नेपाली सेनाको सहायक रथी रहेको खुल्न आएपछि सीआईबीले कागज गराएर उनलाई छाडिदिएको थियो । फौजदारी कसुर, कर्तव्यज्यान र जबरजस्ती करणीबाहेकका कसुरमा संलग्नताको आरोप लागेका नेपाली सेनाका कर्मचारीलाई सैनिक ऐन २०६३ अनुसार नेपाली सेनाले आफैं कोर्टमार्शल गर्ने गर्दछ । 

बैंक ठगी प्रकरणमा सैनिक अधिकारीको समेतको मिलेमतो रहेको देखिएपछि सो बिषयमा थप अनुसन्धान र घटनासँग जोडिएका अन्य मतियारहरुको खोजी समेत भइरहेको प्रहरीले जनाएको छ । 

डीआइइजी पुुष्कर कार्कीका अनुसार बैंककी सहायक टेलर रेग्मीको मुख्य योजनामा बैंकलाई हानिनोक्सानी भएको रू. ४ करोड ९१ लाख रुपैयाँमध्ये केही रकम प्रकाश घतानीको कृषि विकास बैंकको खातामा समेत जम्मा हुने गरेको र सोबापत प्रकाश घतानीले रेग्मीलाई सुनका गरगहना दिने गरेको अनुसन्धानको क्रममा खुलेको छ । यस्तै, कार्यालय सहयोगी पदमा कार्यरत रमेशकुमार थापाले रेग्मीको सहयोगीको रुपमा काम गरेको समेत अनुसन्धानको क्रममा खुलेको कार्कीले जानकारी दिए ।