काठमाण्डौ । जनता बैंकलाई मर्ज गरेपछि देशकै ठूलो बैंक बनेको ग्लोबल आइएमई बैंक लिमीटेडले माथिल्लो तहका केही कर्मचारीहरुलाई विदा गर्ने भएको छ । 

माथिल्लो तहका कर्मचारीलाई विदा गर्ने रणनीतिअनुसार बैंकले स्वेच्छिक अवकाश योजना(भीआरएस)को स्किम कार्यान्वयनमा ल्याउँदै त्यसका लागि इच्छुकबाट दरखास्त आह्वान गरेको हो । 

बैंकले असिस्टेन्ट म्यानेजर(सहायक प्रबन्धक)देखि माथिका पदमा कार्यरतहरुलाई लक्षित गरी भीआरएस ल्याएको प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले बताएका छन् ।

‘हामी दुवै बैंकले मर्जरअघि नै यो काम सक्नुपथ्र्यो, तर त्यसबेला चाँडो मर्जरको काम सक्नेतर्फ लाग्दा यो विषय छुटेको थियो, त्यही विषयलाई अहिले कार्यान्वयमा ल्याइएको हो ।’ बिजशालासँग उनले भने–‘कुनै पनि कर्मचारीलाई जबरजस्ती घर पठाउने योजना होइन, मर्जरको बाइलज अनुसार नै जागिर छाड्न चाहनेहरुका लागि ल्याइएको कार्यक्रम हो ।’ 

उनका अनुसार भीआरएस कार्यक्रम रोज्ने कर्मचारीहरुले बैंक छाड्दा खाईपाई आएको १४ महिना बराबरको तलब एकमुष्ट रुपमा पाउनेछ । 

सामान्यतया भीआरएस स्किममा सहभागी हुन चाहने कर्मचारीका लागि १२ महिना बराबरको तलब दिएर बैंकहरुले विदा गर्ने गरे पनि आफूहरुले २ महिना थपेर १४ महिना कायम गरेको सीइओ कुँवरको दाबी छ । 

हाल ग्लोबल आइएमई बैंकमा सहायक प्रबन्धक माथिको पदमा १२८ कर्मचारी कार्यरत छन् । उनीहरुमध्ये जोसुकै इच्छुकले भीआरएस रोज्न सक्छ । 

भीआरएसका लागि बैंकले असार ३ गतेसम्म दरखास्त दिन सकिने भन्दै सूचना निकालेको छ । ‘यो कार्यक्रम घोषणासँगै केही कर्मचारीको दरखास्त परिसकेको छ ।’ सीइओ कुँवरले थपे । 

भीआरएसमा जाने योग्य कर्मचारीले हाल चलाउँदै आएको गाडी समेत लिएर जान चाहेमा त्यसको भ्यालूएसन गरी १४ महिनाको तलबबाट पैसा काटेर लैजान दिइने नीति लिइएको कुँवरले बताए । 

जनता बंैकलाई मर्जर गरेपछि ग्लोबल आइएमई बैंकमा करिब ३२०० कर्मचारी कार्यरत छन् । 

केही समयअघि कुमारी बंैकले नेपालको बैंकिङ उद्योगको हालसम्मकै आकर्षक भीआरएस प्याकेज ल्याएको थियो । जसमा बैंकका २ डेपुटी सीइओसहित २८ कर्मचारी सहभागी भएका थिए । कुमारी बैंकले २ वर्ष बराबरको तलब, सहायक प्रबन्धकभन्दा माथिकाले चलाइरहेको बैंकको गाडी उपहार तथा यो वर्षको बोनस समेत पाएका थिए । 

देशकै ठूलो बैंक भए पनि ग्लोबल आइएमई बैंकको भीआरएस प्याकेज भने कुमारीको जति आकर्षक होइन ।