काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले संस्थापक समूहको नबिकेको ९ लाख २१ हजार बढी कित्ता हकप्रद सेयर यही चैत १२ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। 

बैंकले गत वर्ष जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो। त्यस क्रममा संस्थापक समूहको ९ लाख २१ हजार १४८.७० कित्ता सेयर बिक्री भएको थिएन। पछि नबिकेको सेयर लिलामी प्रक्रियामार्फत नै संस्थापक सेयरधनीहरुका लागि बिक्री खुलाइए पनि नबिकेको हो। 

यसरी नबिकेको ९ लाख २१ हजार १४८.७० कित्ता सेयर बैंकले लिलामी प्रक्रियामार्फत इच्छुक जोकोही लगानीकर्ता व्यक्ति, कम्पनी र संघसंस्थालाई बिक्री गर्न लागेको हो। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। सो वा सोभन्दा बढी मूल्य अंकित बोलपत्र पेस गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। 

यही चैत १९ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र एनआईबीएल एस क्यापिटल लिटिमेडको काठमाण्डौ लाजिम्पाटस्थित केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु पुतलीसडक, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज र विराटनगरमा पेस गर्न सकिनेछ। 

त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा कायालयहरु नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुलसीपुस, सुर्खेत, नेपालगन्ज र धनगढी, सहारा विकास बैंकका शाखाहरु सर्लाहीस्थित मलंगवा, बरथवा, लालबन्दी, ईश्वरपुर र गोडैतनामा तथा ग्रन डेभलपमेन्ट बैंकको बागलुङस्थित कार्यालयमा पनि बोलपत्र पेस गर्न सकिनेछ।