काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले आज (पुस १७ गते)देखि १० बराबर ८ को अनुपात(८० प्रतिशत)मा हकप्रद सेयर निश्कासन गरेको छ । 

यो विकास बैंकले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८ लाख ६७ हजार ७ सय ९८.५० कित्ता सेयर आफ्ना सेयरधनीका लागि बिक्री खुल्ला गरेको हो ।

हकप्रद खरीद गर्न लागि इच्छुक सेयरधनीले आगामी माघ २१ गतेसम्म तोकिएका स्थानमा गई आवेदन दिनुपर्नेछ । 

कम्पनीले हकप्रद प्रयोजनका लागि मंसिर २७ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ मंसिर २६ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

यो विकास बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभूू क्यापिटल लिमीटेडले गर्नेछ । 

इच्छुक सेयरधनीले प्रभूू क्यापिटलको कमलादीस्थित मुख्य कार्यालय, प्रभूू बैंकका सबै शाखा कार्यालय तथा सांग्रीला डेभलपमेन्ट बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल यो विकास बैंकको चुक्तापूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी २ अर्ब ४४ करोडको उचाईमा पुुग्नेछ । 
यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १० लाख खूद नाफा आर्जन गरेको छ ।