काठमाडौँ । हामी जनताबाट निर्वाचित भएका हौँ, तर जिल्लाको कार्यक्रममा जाँदा हाम्रो मर्यादाक्रम पूर्वमन्त्रीभन्दा तल राखियो । यसले हामीलाई असजिलो बनाएको छ । यो समस्याको समाधान गर्ने विषयमा सरकारले केही पहल गरेको छैन ? यो भनाइ हो प्रतिनिधिसभाका सदस्य झपट रावलको । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारले निर्धारण गरेको मर्यादाक्रमले जननिर्वाचित सांसदलाई अपमान गरेको भन्दै रावलले त्यसलाई सच्याउन गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराउनुभयो । 

सांसद रावलले भन्नुभयो, “मैलै प्रतिनिधिसभाको निर्वाचनमा एक पूर्वमन्त्रीलाई पराजित गरे, जनताले मलाई जिताए, तर जिल्लाको कार्यक्रममा जाँदा जनताले पराजित गरेका पूर्वमन्त्रीलाई मर्यादामा माथि राखिन्छ यसले राम्रो गरेको छैनजस्तो मलाई लाग्छ, मर्यादाक्रम निर्धारण गर्दा किन यो विषयलाई सम्बोधन गरिएन गृहमन्त्रीज्यू ।” 

रावलले प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नं २ मा पूर्वमन्त्री मोहनसिंह राठोरलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । यस्तै बैठकमा सांसदहरुले उपसभामुख तथा अन्य केही विशिष्ट व्यक्तिको मर्यादाक्रम नमिलेको भन्दै गृहमन्त्रीलाई समस्या समाधानका लागि आग्रह गर्नुभयो । सांसदहरुको जिज्ञासापछि गृहमन्त्री थापाले भन्नुभयो, “सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि नै हुन्छ ।” 

उहाँले मन्त्रिपरिषद्को बैठकमा मर्यादाक्रमका विषयमा छलफल जारी रहेको र केही समयभित्रै राजपत्रमा पुनः प्रकाशित हुने जानकारी दिनुभयो । प्रदेश र स्थानीय तहका पदाधिकारीलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने विषयमा छलफल जारी रहेको जानकारी दिँदै उहाँले सङ्घीय संसद्का सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि नै रहने व्यवस्था हुने बताउनुभयो । 

गृहमन्त्री थापाले जनप्रतिनिधिको मर्यादाक्रमलाई माथि नै राख्ने राष्ट्रिय नीति रहेको उल्लेख गर्दै पूर्वमन्त्रीभन्दा सङ्घीय संसद्का सांसदको मर्यादाक्रम माथि नै रहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ मर्यादाक्रम मन्त्रिपरिषद् बैठकबाट पारित गरी छिट्टै राजपत्रमा प्रकाशित गर्ने सरकारको योजना रहेको छ ।” उहाँले नयाँ मर्यादाक्रमका विषयमा सरोकारवाला निकायसँग आवश्यक छलफल भइरहेको पनि समितिलाई जानकारी गराउनुभयो । सरकारले केही समयपहिले नयाँ मर्यादाक्रम सार्वजनिक गरेको थियो ।