इलाम । पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ३७ औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसर पारेर सोमबार इलामको कन्यामबाट चार दिने साइकल यात्रा सुरू भएको छ ।

विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको आठजनाको टोलीले निकै कठिन बाटो पार गरेर इलाम, पाँचथर र धनकुटामा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा यात्रा गर्ने तय गरेका छन् ।

साइकल यात्रामा शाहसहित इलाम बाँझोका आकाश लिम्बू, विकास लिम्बू, महमाइका सुमन लिङ्देन, सुनसरीका कृष्ण केसी, सदिउर घले र विनु राई तथा बाराका सुजन चौधरी सहभागी छन् ।

विकासका पूर्वाधार बनिनसकेका पहाडी क्षेत्रमा साइक्लिङको राम्रो सम्भावना भएकाले प्रचारका लागि साइकल यात्रामा निस्किएको पुष्कर शाहले बताए। ‘पहाडी क्षेत्रमा रहेका पर्यटकीय ठाउँमा पक्की सडक बनिसकेका छैनन्, त्यस्ता ठाउँमा साइकलबाट सजिलै पुग्न सकिन्छ भन्ने सन्देश दिन सकियोस् भन्ने यात्राको उद्देश्य हो,’ उनले भने ।

साइकलयात्रीलाई कन्याममा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति र इलाम पर्यटन सरोकार समितिले स्वागत गरेका थिए । यात्राको सूर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले उद्घाटन गरे । साइकलयात्री सोमबार कन्याम, फिक्कलको बरबोटे, नयाँबजार हुँदै जमुना पुगेका छन् ।

आज जमुनाबाट माबु, पर्यटकीयस्थल माइपोखरी हुँदै सदरमुकाममा हुने पर्यटन दिवसको औपचारिक कार्यक्रममा सहभागी हुने बताइएको छ । त्यसपछि पाँचथर हुँदै धनकुटा पुग्ने आकाशले बताए ।

विश्व साइकलयात्री सहभागी यात्रालाई पर्यटनसँग सम्बन्धित संस्थाले विभिन्न ठाउँमा स्वागत गर्ने भएका छन् । ‘साइक्लिङ धरान’को व्यवस्थापनमा सुरू भएको यात्राले पर्यटकीय क्षेत्रका प्रचारमा मद्दत पुग्ने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष केशव द्यौरालीले बताए ।