बुटवल । रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंक मर्जरमा जाने भएका छन् । 

बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीच प्राप्ति सम्बन्धी सम्झौता भएको हो । 

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले आइतबार संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।  

एकतापछि पनि एकीकृत बैंकको नाम भने ‘साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड’ राख्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । साथै एकतापछि साइन रेसुङ्गा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको बैंक हुनेछ भने बैंकको केन्द्रीय कार्यालय बुटवलमा स्थापना गरिनेछ । 

संस्थाको प्रमुख कार्यकारी अधिकृतमा हाल शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका बहालवाला प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल नै कायम रहने छन् भने पूर्णिमा विकास बैंक लिमिटेडका बहालवाला प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ्ग नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहने छन् ।

साइन रेसुङ्गाको रु एक अर्ब ६२ करोड २६ लाख चुक्ता पूँजी रहेको र रु ५५ करोड १२ लाख चुक्ता पूँजी भएको पूर्णिमाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

साइन रेसुङ्गाको निक्षेप रु १६ अर्ब १० करोड २३ लाख र पूर्णिमाको रु तीन अर्ब ३५ करोड ६१ लाख रहेको छ भने कर्जातर्फ साइनको रु १४ अर्ब ५२ करोड ३६ लाख र पूर्णिमाको रु तीन अर्ब चार करोड ६७ लाख रहेको कार्यक्रममा जानकारी गराइएको थियो । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ४० शाखा छन् भने पूर्णिमाका १२ वटा शाखा कार्यालय रहेका छन् । 

यसअघि साइन रेसुङ्गा बैंकले प्युठानलाई कार्यक्षेत्र बनाई सञ्चालनमा रहेको गौमुखी विकास बैंकलाई गाभेको थियो । 

त्यसैगरी रुपन्देहीमा स्थापित साइन र गुल्मीमा स्थापित रेसुङ्गा एकापसमा गाभिएर साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको हो । 

यस क्षेत्रका १० जिल्लामा कार्यक्षत्र रहेको साइन रेसुङ्गा र तीन जिल्लामा मात्र कार्यक्षेत्र रहेको पूर्णिमाबीच एकता भएसँगै थप कार्यक्षेत्र विस्तारका लागि सघाउ पुग्ने विश्वास बैंक सञ्चालकले लिएका छन् ।