काठमाण्डौ । यमनको हूथी विद्रोही समूहले शनिबार साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमण गरी ध्वस्त पारेपछि विश्व बजारमा इन्धनको मूल्य बढ्न सक्ने अनुमान गर्न थालिएको छ ।

बीबीसीका अनुसार यमनी विद्रोही समूहले साउदी अबरको सरकारी स्वामित्वमा रहेका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोनको सहायताले आक्रमण गरेको हो । आक्रमणपछि साउदी अबरले भारीमात्रा तेल र ग्यास उत्पादनमा कटौती गरेको छ ।

साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज विन सलमानले विद्रोही समूहको आक्रमणबाट कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आउने बताएका छन् । यो साउदीको कुल उत्पादन गर्ने परिमाणको झन्डै आधा रहेको बीबीसीमा जनाइएको छ ।

साउदी प्रेस एजेन्सीले छापेको ऊर्जामन्त्री सलमानको वक्तव्यमा ‘ड्रोन आक्रमणका कारण अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन रोकिएको’ उल्लेख छ । अरामको भण्डार केन्द्रका प्रमुख कार्यकारी अधिकृतले दुवै प्रशोधन केन्द्रमा स्थिति नियन्त्रणभित्र रहेको बताउँदै आक्रमणबाट कोही हताहत नभएको बताएका छन् ।

यमनिस्थित हूथी विद्रोही समूहका प्रवक्ताले आक्राण्ममा आफूहरुले १० वटा ड्रोन प्रयोग गरेको र सफल भएको बताएका छन् ।

उता अमेरिकाले भने ती ड्रोन यमनबाट आएको भन्ने कुराको कुनै प्रमाण नभएको र आक्रमणमा इरानको हात रहेको आरोप लगाएको छ ।

एउटा ट्विटमा अमेरिकी विदेशमन्त्री पोम्पेओले आक्रमणलाई ‘विश्वको ऊर्जा आपूर्तिमाथिको अभूतपूर्व आक्रमण’ को सङ्ज्ञा दिएका छन्। उनले भनेका छन्, ‘इरानी आक्रमणको सार्वजनिक र स्पष्ट रूपमा निन्दा गर्न हामी सबै मुलुकलाई आग्रह गर्छौं ।’

ऊर्जा बजारमा आपूर्ति यथास्थितिमा रहेको सुनिश्चित गर्न अमेरिकाले आफ्ना साझेदारहरूसँग मिलेर काम गर्ने बताउँदै पोम्पेओले ‘हिंसाका लागि इरानलाई उत्तरदायी बनाइने’ बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले ऊर्जामन्त्री सलमानलाई साउदी तेल केन्द्रहरूको सुरक्षाका लागि पूरा सहयोग गर्ने प्रस्ताव गरेका छन् । रियादले हमलाको प्रत्युत्तर दिन सक्षम रहेको जनाएको छ ।

पश्चिमा मुलुकहरुको समर्थन रहेको यमन सरकारलाई सघाउने गठबन्धनको नेतृत्व साउदी अरबले गर्छ भने इरानले हूथी विद्रोहीलाई समर्थन गर्दै आएको छ ।

अरामको विश्वको सबैभन्दा ठूलो तेल उत्पादक मात्रै नभई विश्वमै सबैभन्दा बढी नाफा कमाउने कम्पनी हो । खुरैस प्रशोधन केन्द्रले विश्वमा गरिने खपतको झन्डै एक प्रतिशत तेल उत्पादन गर्छ भने अब्काइक अरामकोको सबैभन्दा ठूलो प्रशोधन केन्द्र हो । विश्व बजारको मागको सात प्रतिशत आपूर्ति गर्ने त्यसको क्षमता छ।

उसको आकारको कारणले गर्दा आंशिक अवरोधले पनि उक्त कम्पनी र आपूर्तिलाई प्रभावित पार्न सक्छ । आक्रमणका कारण साउदी अरबको तेल उत्पादनका आधाले कमी आएको हुन सक्ने विश्लेषकहरूले बताएका छन् ।

साउदी अरेबिया एक्लैले विश्व बजारको १० प्रतिशत कच्चा तेल उत्पादन गर्छ। उत्पादनमा आधाले आएको कमीको अर्थ सोमवार बजार खुल्नासाथ तेलको मूल्यमा उल्लेखनीय असर पर्नेछ ।