काठमाण्डौ । सबैभन्दा ठूलो तेल उत्पादन कम्पनी साउदी आरामको अब आईपीओमार्फत विश्वकै ठूलो धनराशि जम्मा गर्ने कम्पनी पनि बनेको छ । कम्पनीले आईपीओबाट २५.६ अर्ब अमेरिकी डलर जम्मा गरेको छ ।

यो आईपीओसँगै साउदी अरबको सरकारी तेल कम्पनी आरामकोको बजार मूल्यांकन १.७ लाख करोड डलर पुगेको छ ।

यो विशालकाय बजार मूल्यांकनपछि साउदी आरामकोले विश्वमा सार्वधिक मूल्यवान कम्पनी रहेको एप्पललाई पनि पछि पारेको छ । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलको बजार मूल्यांकन करिब १.२ लाख करोड डलरमात्र रहेको छ ।

साउदी आरामको यही डिसेम्बर महिनाको अन्त्यसम्मा रियाध स्टक एक्सचेन्जमा सूचीबद्ध हुने योजना बनाएको छ ।

आरामकोले आईपीको जारी मूल्य ३२ रियाल (८.५३ डलर) प्रतिसेयर तय गरेको छ । यो मूल्यका आधारमा कम्पनीको यो आईपीओले २५.६ अर्ब डलर जम्मा गरेको हो ।

आरामको आईपीओले चिनियाँ ई–कमर्श कम्पनी अलीबाबाको आईपीओलाई पनि पछाडि पारेको छ । यसअघि अलीबाबाको आईपीओ विश्वकै सबैभन्दा ठूलो धनराशि जम्मा गर्ने आईपीओ थियो । सन् २०१४ मा अलीबाबाले आईपीओबाट २५ अर्ब डलर जम्मा गरेको थियो ।

समाचार स्रोतका अनुसार आरामको १५ प्रतिशतले ग्रिन शू अप्सनको प्रयोग गर्न सक्छ । यो भयो भने आरामकोले यो आईपीओबाट २९.४ अर्ब डलर जम्मा गर्न सक्छ ।

साउदी अरबका राजकुमार मुहम्मद बिन सलमानको लामो समयदेखि यो कम्पनीको बजार मूल्यांकन २ लाख करोड डलर हुने अपेक्षा थियो । तर अहिले पनि यो कम्पनी २ लाख करोड डलरभन्दा कम बजार मूल्यांकनमा छ । – एजेन्सी