काठमाण्डौ । नेपालका लागि इतिहासमै पहिलोपटक, हिमालय एरअलाईन्सले आफ्ना यात्रु वर्गहरुलाई लक्षित गर्दै आगामी भदौ १६ गतेदेखि दशैंतिहारको विशेष उपहारको रुपमा दमाम, साउदी अरबमा दैनिक सिधा उडान भर्ने घोषणा गरेको छ ।

साउदी अरब नेपालीहरुका लागि वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो, जहाँ वर्तमानमा करिब ५ लाख नेपाली कुशल र अर्धकुशल मजदूरहरु काम गरिरहेका छन् । हिमालय एअरलाईन्सले सुरु गरेको दैनिक सिधा उडान साउदीमा बस्ने नेपालीहरुका लागि आउँदै गरेको महान चाँड दशैं तथा दिपावलीमा घर आउनेहरुलाई उपहार हुने बताइएको छ । दमाम, साउदी अरब र काठमाण्डौ बीच यात्रा गर्ने हजारौं नेपालीहरुलाई यात्राको सहजताका साथै समय र पैसा दुवैको बचत एयरलाइन्सको दाबी छ । 

दैनिक उडान संचालन गर्ने हिमालय एअरलाईन्सको विमान उडान नम्बर H9559 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट २२:३० (स्थानिय समय)मा प्रस्थान गरी किङ्गफाद अन्तराष्ट्रिय विमानस्थल दमाममा अर्को दिनको ००:५० (स्थानीय समय)मा अवतरण गर्नेछ । त्यसैगरी, उडान नम्बर H9560 किङ्गफाद अन्तराष्ट्रिय विमानस्थल दमामबाट ०१:५० (स्थानीय समय)मा प्रस्थान गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौमा ०९:१५ (स्थानीय समय)मा अवतरण हुनेछ । 

हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ उडान गन्तव्यको बिषयमा भने–‘हामी सधै हाम्रा यात्रुहरुलाई सरल, सुलभ र सुविधाजनक हवाई सेवा प्रदान गर्न उत्सुक छौ । साउदी अरब यात्रा गर्दा सामना गर्नुपरेका लामो लामो ट्रान्जिट र विभिन्न समस्याहरुलाई हाम्रो यो प्रत्यक्ष उडानले समाधान गर्नेछ भन्नेमा हामी विश्वत छौ । यो दैनिक सिधा उडान हामी आफ्नो यात्रुहरुका लागि महान चाँड वडा दशैं तथा दिपावलीको उपहारको रुपमा पेश गर्न चाहन्छौं ।’

यो एअरलाईन्सले काठमाण्डौ-दमाम-काठमाण्डौका लागि शुरुवाती टिकटदर करबाहेक, रु. २३,८०० एकतर्फी र ने.रु ३८,००० (दुईतर्फी) कायम गरेको छ । त्यसैगरी, दमाम-काठमाण्डौ-दमामको शुरुवाती टिकटदर करबाहेक, SAR ८५० एकतर्फी र SAR १,३६० (दुईतर्फी) कायम गरेको छ । दुवै मार्गहरुमा बिजनेस क्लासको लागि ४० केजी र इकोनोमी क्लासका लागि ३० केजी ब्यागेज अलाउन्स निःशुल्क गरिएको छ ।

हिमालय एअरलाईन्सले Asfar Travel and Tourism लाई साउदी अरबका लागि आधिकारिक बिक्रेता तोकेको छ । सो ट्राभल एजेन्सीले हिमालय एअरलाइन्सको प्रतिनिधित्व गर्दै बजार विस्तार, रिजर्भेसन र टिकट सेवा आदि सम्पूर्ण कार्य गर्ने बताइएको छ ।