काठमाण्डौ । बित्त, अर्थ तथा योजना मन्त्रालयले तेलको भाउमा आएको भारी गिरावटका कारण अप्ठ्यारोमा परेको राजश्वलाई जिवन्त बनाइराख्न पेश गरेको प्रस्ताव साउदी अरबको क्याबिनेटले पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै साउदीले आफ्नो भिसासहित अध्यागमनसँग सम्बन्धित शुल्कमा समेत भारी वृद्धि भएको छ । 

अब साउदी भित्रने र बाहिरिने दुवैले त्यहाँको नियम अनुसार महंगो शुल्क करको रुपमा तिर्नुपर्ने नियम समेत लगाइएको छ । 

अरब न्यूजको एक रिपोर्टका अनुसार साउदी क्याबिनेटबाट पारित भिसासहितका अध्यागमन शुल्कमा गरिएको भारी वृद्धिको निर्णय आइतबारदेखि नै कार्यान्वयनमा आउनेछ । 

रिपोर्टका अनुसार यसअघि २५ रियाल तिर्दा प्राप्त हुने भिजिट भिसाका लागि अब २ हजार रियाल तिर्नुपर्नेछ । यस्तै, ५ सय रियालमा पाइने ६ महिनाको मल्टिपल भिसाका लागि अब ३ हजार रियाल तिर्नुपर्नेछ । एकवर्षका लागि ५ हजार रियाल र दुई वर्षका लागि मल्टिपल भिसा पाउन अब ८ हजार रियाल तिर्नुपर्ने कडा नियम पारित गरिएको छ । 

साउदी सरकारले उसको देशबाट बाहिरिँदा र भित्रदा लाग्ने शुल्क(एक्जिट एण्ड रि–इन्ट्री भिसा शूल्क) पनि लिने निर्णय गरेको छ । क्याबिनेटको निर्णय अनुसार दुई महिना छुट्टीमा आउनेले २०० रियल ‘एक्जिट एण्ड रिइन्ट्री भिसा शूल्क तिर्नु पर्ने हुन्छ । दुई महिनाभन्दा बढी बसेमा प्रत्येक महिनाको १ सय रियालका दरले अतिरिक्त शुल्क जरीवानको रुपमा बुझाउनुपर्नेछ । 

साउदीले अब सामुन्द्रिक बाटो हुँदै देश छोड्नेहरुसँग पनि ५० रियाल शुल्क लिने नियम बनाएको छ । मल्टिपल भिसा अवधि थप्दा प्रतिमहिना २ सय रियाल पनि बुझाउनुपर्नेछ ।

यसअघि साउदी सरकारले आवासीय अनुमति पत्रको शुल्कमा पनि भारी बृद्धि गरेको थियो । यसले नेपालजस्ता देशबाट जाने कामदार र रोजगारदाता कम्पनीलाई अतिरिक्त खर्चको मार परिरहेको बेला नयाँ व्यवस्थाले यो गन्तव्यतर्फको आकर्षण थप घटाइदिने विश्लेषण गरिएको छ । 

पछिल्लो समय तेलको मूल्य तल झरेका कारण साउदीको अर्थतन्त्र संकटमा छ । यसका कारण कयौं कम्पनीहरुले कामदारहरुलाई विदा गरिरहेका छन् । कतिपय विदेशी कामदारहरुले त्यहाँ समयमा तलब नपाउने समस्या पनि पछिल्लो समय बढेर गएको छ ।