काठमाण्डौ । आगामी आर्थिक वर्षदेखि सरकारी सेवामा प्रवेश पाउने कर्मचारीहरुका लागि सरकारले योगदानमा आधारित निवृतिभरणको व्यवस्था लागू गर्ने भएको छ ।

आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले त्यस्तो घोषणा गरेका हुन् । 

उनका अनुसार साउन १ गतेदेखि नियुक्त हुने निजामति कर्मचारी, शिक्षक, सेना, प्रहरी लगायत सबै सरकारी सेवामा प्रवेश गर्ने कर्मचारीहरुमा यो नियम लागूू हुनेछ । 

यो नयाँ व्यवस्थासँगै हालसम्म सरकारले सञ्चित कोषबाट कर्मचारीलाई पेन्सन दिंदै आएको नियम खारेज हुनेछ । सेवा निवृत हुने कर्मचारीको संख्या बढ्दै जाँदा सञ्चित कोषबाट कर्मचारीलाई पेन्सन दिन राज्यले नसक्ने अवस्था आउनसक्ने चिन्ता लामो समयदेखि प्रकट भइरहेको थियो । 

नयाँ व्यवस्थापछि अब भविष्यका पेन्सनका लागि कर्मचारीकै तलबबाट प्रत्येक महिना केही हिस्सा काट्ने र जति पैसा काटिन्छ त्यति नै सरकारको तर्फबाट थपेर पेन्सन कोषमा पठाइने व्यवस्था हुनेछ । नयाँ घोषणाले यसअघि नियुक्त भएका निजामति कर्मचारीहरुलाई भने कुनै असर गर्नेछैन।

सरकारी कर्मचारीको हकमा ल्याइएको यो नयाँ कार्यक्रममा लागि चाहिने विधेयक संसदको यही अधिवेशमा पेश हुने पनि अर्थमन्त्रीले प्रष्ट्याएका छन् ।