काठमाण्डौ ।  धितोपत्र बोर्डले आर्थिक वर्ष २०७५/७६ देखि दोश्रो बजारमा लगानीकर्ताले स्थायी लेखानम्बर(पान नम्बर) लिनुपर्ने व्यवस्थामा केही लचकता प्रदर्शन गरेको छ । 

बोर्डले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउनदेखि दोश्रो बजारमा लगानी गर्दा अनिवार्य रुपमा पाननम्बर लिनुपर्ने नीतिगत व्यवस्था गर्ने भनिए बमोजिम दोश्रो बजारमा सेयर खरीद बिक्रीका लागि पान नम्बर लिन प्रोत्साहित गर्ने भनेको छ । 

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पान नम्बर अनिवार्य गर्दा यसले घटिरहेको बजारमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै यसलाई अनिवार्य नगरिएको बताए । तर, केही महिनापछि यो व्यवस्था अनिवार्य हुने भएकोले त्यसका लागि लगानीकर्तालाई प्रोत्साहिन गर्ने नीति बोर्डले लिनेछ । 

बोर्डले कानूनी व्यवस्थाहरुको परिपालना नगर्ने बजार सहभागीहरुलाई कारवाही प्रक्रिया अगाडि बढाउने, वस्तु विनिमय बजार संचालन तथा वस्तु कारोबार व्यवसायी सम्बन्धी आवश्यक निर्देशिकाहरु तर्जुमा गरी कार्यान्वयन गर्ने, वस्तु विनिमय बजार तथा व्यवसायी सुपरिवेक्षण दिग्दर्शन तर्जुमा गरी लागू गर्ने र धितोपत्र व्यवसायीको नियम परिपालना प्रतिवेदनको ढाँचा विकास गरी कार्यान्वयन गर्ने जस्ता कार्यहरु गरी बजार व्यवस्थामा सुधार गर्ने नीति समेत लिने भएको छ । 

पूँजी बजारको गतिशील विकासमा सहयोग पुर्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई सहायक कम्पनी स्थापना गरी संस्थागत लगानीकर्ता तथा बजार निर्माताको रुपमा पूँजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने,  मर्चेण्ट बैंकिङ्ग व्यवसायमा पारदर्शिता तथा जनसहभागिता समेत बढाउने उद्देश्यले मर्चेण्ट बैंकिङ्ग व्यवसायी (मर्चेण्ट बैंकर)हरुका लागि १५ प्रतिशतमात्र सार्वजनिक निष्काशन गरी पब्लिकमा जानसक्ने व्यवस्था गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, प्रदेशहरुमा आर्थिक पत्रकारहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दै जाने, देशव्यापीरुपमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी प्रशिक्षण तथा जनचेतना अभिबृद्धि गर्न स्थानीय स्तरका योग्य इच्छुक व्यवसायिक जनशक्तिलाई प्रशिक्षक प्रशिक्षणका लागि आह्वान गरी संभाव्य विज्ञहरुको सूची बनाई उनीहरुमार्फत् प्रदेश तथा जिल्लामा बजारसम्वन्धी प्रशिक्षण तथा जनचेतना अभिबृद्धि कार्यक्रम संचालनको शुरुवात गर्ने, नयां लगानीकर्ताहरुलाई दृष्टिगत गरी काठमाडौं उपत्यकामा धितोपत्र बजारसम्बन्धी निरन्तर प्रशिक्षण तथा जनचेतना अभिबृद्धि र लगानीकर्ताहरुको जिज्ञासाहरु सम्बोधन गर्न स्टक एक्सचेञ्जसंगको सहकार्यमा पाक्षिक रुपमा काठमाडौं उपत्यकाको उपयुक्त स्थानमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने, देशभरी पूँजी बजारसम्बन्धी जनचेतना अभिबृद्धि गर्न पूँजी बजारसम्बन्धी पाक्षिक रेडियो कार्यक्रम संचालनको व्यवस्था गर्ने लगायतका नीति समेत लिने छ ।