काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुलाई ‘छुच्चो’ बन्न सुझाव दिएका छन् । 

सम्पत्ति शुद्धिकरण निवारणमा धितोपत्र व्यवसायीको भूमिका सम्बन्धमा बिहीबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष डा. कार्कीले नेपालको सेयर बजारमा शंकास्पद लगानी हुन नदिन र यसको जोखिमबाट आफूलाई बचाउन समेत ब्रोकरहरु छुच्चो बन्नुपर्ने सुझाव दिएका हुन् । 

‘यहाँहरुले केवाइसी राख्ने सिस्टम कमजोर छ । चिनिएका र प्रतिष्ठित(भीआइपी) लगानीकर्ता आए भने धेरै कुरा नखोजी कारोबारमा सहजीकरणको चलन छ, यो गलत हुँदैछ ।’ ब्रोकर र मर्चेन्ट बैंकर मात्र सहभागी कार्यक्रममा उनले भने–‘बोर्ड र सरकार मात्र कति छुच्चो हुनु ? अब यहाँहरु पनि छुच्चो हुनुपर्छ ।’ 

उनले सेयर बजारमा आउने शंकास्पद लगानीलाई रोक्न र सो विषयमा समयमै सम्बद्ध निकायमा रिपोर्टिङ गर्ने विषयमा ब्रोकरहरुलाई निकै लामो निर्देशन समेत दिएका थिए । 

सम्पत्ति शुद्धिकरण सम्बन्धमा बनेको ऐन अनुसार सेयर बजारमा समेत यो व्यवस्था लागू गर्न दुई–तीन अघि नै निर्देशन जारी भइसकेको र यो व्यवस्था आगामी साउन १ गतेदेखि कडाईका साथ लागू हुने समेत अध्यक्ष कार्कीले प्रष्ट्याए । 

‘सम्पत्ति शुद्धिकरणमा भएको व्यवस्था अनुसार अब धितोपत्र बजारमा समेत शंकास्पद लगानी आउनुहुँदैन, यसलाई रोक्ने काममा यहाँहरुको महत्वपूर्ण भूमिका हुन्छ ।’ उनले भने–‘यसले तपाईलाई कालोसूचिमा पर्नबाट जोगाउँछ । तपाई कालोसूचिमा नपर्नु भनेको नियामक कालोसूचिमा नपर्नु हो । हामी कालोसूचिमा नपर्नु भनेको देश नै कालोसूचिमा नपर्नु हो ।’ 

अहिलेकै जस्तो लापरबाहीपूर्ण अवस्था कायम रहे र सम्पत्ति शुद्धिकरण ऐनले गरेको व्यवस्था कार्यान्वयनमा गम्भीर नभए देश ब्ल्याकलिस्टेड हुने र यसले सबैलाई अप्ठ्यारोमा पार्ने उनको भनाई थियो । 

‘देशलाई कालोसूचिमा पर्नबाट जोगाउन अब तपाई(ब्रोकर)हरुले आफूमार्फत कारोबार गर्न आउने प्रत्येक ग्राहकको केवाइसी अपडेट गर्नुपर्छ र त्यो स्पष्ट हुनुपर्छ ।’ उनले थपे–‘तपाईहरु केही छुच्चो भएर केवाइसीको नियमित अपडेट गराउनुपर्छ । कारोबारमा आएको लगानी शंकास्पद लागे तुरुन्त सम्बद्ध निकायमा खबर गरिदिनुपर्छ ।’ 

उनले ब्रोकरहरुको कार्यक्षेत्र बढाएर मार्केट डिलरसीपको व्यवस्था समेत गर्न लागिएको खुलासा गर्दै भूमिका बढेसँगै ब्रोकरहरुको आन्तरिक नियन्त्रण प्रणाली समेत मजबुत बन्नुपर्ने र कुनै पनि कालोधन(शंकास्पद धन) बजारमा लगानी नहोस् भन्ने विषयमा सचेत हुनुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा सहभागी मर्चेन्ट बैंकहरुलाई निर्देशन दिंदै उनले विशेष गरी पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिइरहेका संस्थाहरुले पनि शंकास्पद लगानीको विषयमा चनाखो बन्नुपर्ने बताए । मर्चेन्ट बैंकहरुको कार्यक्षेत्र समेत बिस्तार हुन लागेको उल्लेख गर्दै कोही भीआइपी भएकै कारण केवाइसी लगायतको विषयमा छुट दिन नहुने सुझाए । ‘हाम्रो देशमा भीआइपीले लाइनमा बस्नै नहुने गलत चलन छ । विदेशमा भने अगाडि आउनुहोस् भन्दा पनि भीआइपीहरु लाइनबाटै आउन चाहन्छन् ।’ उदाहरण दिंदै उनले भने–‘यहाँ त भीआइपी नै आएर मलाई चिन्नुभएन ? भन्दै हरेक कुरामा सुविधा र सहजता खोज्छ । अब यो हुनुहुँदैन । भीआइपीको भेषबाट समेत सेयरमा शंकास्पद पैसा आउनसक्छ, यस्तो विषयमा चनाखो भइएन भने हामी आफैं फसिन्छ ।’ 

उनले उच्च राजनीतिक तहकै व्यक्ति आउँदा समेत केवाइसी अपडेट तथा अन्य प्रक्रियाको विषयमा छुच्चो बन्न ब्रोकरलाई सुझाव दिए । 

उनले साउन १ गतेदेखि सम्पत्ति शुद्धिकरण ऐनले गरेको व्यवस्थाको अक्षरंश पालना गर्नुपर्ने र बेलैमा सूचना नदिने ब्रोकर फस्ने चेतावनी समेत दिए ।

‘पहिला चाहि सूचना दियो भने फस्छ भन्थे केही साथीहरु, तर अब सूचना नदिने चाहि फस्छ ।’ उनले भने–‘धितोपत्र दलालहरुबाट शंकास्पद कारोबारको विषयमा रिपोर्टिङ नै नभएको सम्बद्ध पक्षको गुनासो छ, अब यस्तो हुन भएन ।’