काठमाण्डौ । अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षणको सुरुवातले बजारमा सकारात्मक प्रभाव पार्न सकेन । बरु नयाँ आर्थिक वर्षदेखि बढेको पूँजीगत लाभकरले बजारमा नकारात्मक प्रभाव पारेको देखिएको छ । यहीकारण हरियो रंगले विशेष प्राथमिकता पाउने साउनको सुरुवातमै बजारमा रातोको बोलवाला चलेको छ । 

अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षणको कमजोर कार्यान्वयन र करको नकारात्मक प्रभावले मंगलबार बजार परिसूचक(नेप्से) ८.०५ अंकले घट्यो । कारोबार रकम समेत अघिल्लो दिनको तुलनामा घटेर २० करोड ६० लाखमा सीमित बन्न पुग्यो । 

सोमबार दोहोरो अंकले बढेको बजारमा कतिपय सर्टटर्म कारोबारीले थोरै नाफा लिएर सेयर बिक्रीको हतारो गर्दा समेत बजार घट्न सहयोग पुगेको देखिन्छ । यो दिन बजारमा ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएको छ, यहीकारण सेन्सेटिभ इण्डेक्स १.५८ अंकले घट्यो । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६६ अंकको गिरावट आयो । 

मंगलबार बित्त समूह ३.७३ अंकले बढ्यो भने व्यापार समूहमा २.७९ तथा अन्य समूहमा ४.९५ अंकको वृद्धि भयो । बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

बैंकिङ समूह ४.७७ अंकले घट्यो भने होटल समूहमा ५३.११ अंकको पहिरो गयो । विकास बैंक समूह ८.१ अंकले घट्यो भने जलविद्युत समूहमा ३९.२५ अंकको गिरावट आयो । 

आजबाट अलग उपसूचक भएकामध्ये जीवन बिमा समूह ७४.११ अंकले घट्यो भने निर्जीवन बिमा समूहको सूचक ८७.६७ अंकले घट्यो । यो दिन माइक्रोफाइनान्स समूह १३.३२ अंक, उत्पादनमूलक ३५.६६ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५२ कम्पनीका ५ लाख १४ हजार १ सय ६१ कित्ता सेयर २० करोड ६० लाख ८८ हजार १ सय ३१ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी नवील बैंकको ५ करोड ८१ लाख बढीको सेयर किनबेच भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ८७ लाख, नेपाल बैंकले ६९ लाख बढीको कारोबार गरे । नवील बैंकको ५९ लाखको हाराहारीमा संस्थापक सेयर किनबेच भएको बजारमा इन्भेष्टमेन्ट बैंकले ४६ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ४० लाख, एनएमबी बैंकले पनि ४० लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकको ३६ लाखको हाराहारीमा संस्थापक सेयर किनबेच भएको बजारमा एनएमबी माइक्रोफाइनान्सले ३४ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने  र गुमाउने कम्पनी
यो दिन रैरांग हाइडोपावर कम्पनीका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६.७६ प्रतिशतले वृद्धि भयो ।

यो दिन बोटलर्स नेपाल(तराई) लिमीटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । यो कम्पनीको सेयर मूल्यमा ५.८२ प्रतिशतको गिरावट आयो । यो दिन नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले समेत ५.७७ प्रतिशतले सम्पत्ति गुमाए ।