काठमाण्डौ । चालु आर्थिक वर्षको अन्तिम दिन बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १४.९० अंकले बढी १३६२.३४ को विन्दूमा पुगेको हो । 

नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंकको ब्याजदर घट्ने घटनाक्रमहरुले देखाएपछि र बजारमैत्री मौद्रिक नीति आउने संकेत आएसँगै बजारमा खरीद चाप बढेको हो । यहीकारण नेप्से परिसूचक दोहोरो अंकले बढ्दै पुरानो आर्थिक वर्षलाई बजारले विदाई गरेको छ । 

विश्लेषकहरुको पूर्व आँकलनअनुसार नै बजारले नयाँ गति लिने संकेत गरेको हो । 

नेप्से परिसूचकसँगै कारोबार रकम समेत बढेर यो दिन १ अर्ब १६ करोड माथि पुगेको छ । यसरी बजारमा परिसूचक र कारोबार रकम समानान्तर ढंगले बढ्नु सुखद संकेत हो । यो प्रवृति केही दिनसम्म जारी रहे बजारमा अझ ठूलो उछाल आउने आँकलन गर्ने गरिन्छ । 

यो दिन बजारका ४ उपसमूहका परिसूचक घटेका छन् भने बाँकी उपसमूहका परिसूचक बढेका छन् । 

बैंकिंग समूह २४.३८ अंकले बढेको यो दिन व्यापार समूहमा १२.९१, विकास बैंक समूहमा ६.९२, जलविद्युत समूहमा ४.८८, वित्त समूहमा ३.७३, निर्जीवन बिमा समूहमा ८.९१, म्युचुअल फण्ड समूहमा ०.२२ अंक र अन्य समूहमा १०.७३ अंकको बढोत्तरी भयो । 

यो दिन होटल समूहमा ४५.४१ अंकको पहिरो गयो भने उत्पादन तथा प्रशोधन समूह २५.८३, जीवन बिमा समूह ४३.४१ अंक र माइक्रोफाइनान्स समूह ९.८ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १८९ कम्पनीका ३२ लाख १२ हजार ९२४ कित्ता सेयर १ अर्ब १६ करोड ४ लाख ९१ हजार ५२२ रुपैयाँमा किनबेच भयो । 
सबैभन्दा बढी एनआइसी एशिया बैंकले १० करोड बढीको कारोबार गर्यो । 

नेपाल रि इन्स्योरेन्स कम्पनीले ९ करोड ७३ लाख, एनएमबी बैंकले ८ करोड ६० लाख, नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड ९० लाख, हिमालयन डिस्टीलरीले ४ करोड ३३ लाख, लक्ष्मी बैंकले ३ करोड ८३ लाख, नवील बैंकले ३ करोड २६लाख, साना किसान विकास बैंकले ३ करोड १८ लाख, छिमेक लघुवित्तले २ करोड ९८ लाख र एभरेष्ट बैंकले २ करोड ८८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनआइसी एशिया लघुवित्त र नवील ब्यालेन्स फण्ड २ का लगानीकर्ताले धेरै कमाए । दुवै कम्पनीको सेयर(इकाई) मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । बेस्ट फाइनान्स कम्पनीको मूल्य ९ प्रतिशतभन्दा केही बढीले वृद्धि भयो । 

यो दिन मिथिला लघुवित्तका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.४५ प्रतिशतले घट्यो ।