काठमाण्डौ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनएमबी ५०’ नामक म्युचुअल फन्डको १२ करोड इकाइको साउन १३ गते बिक्री खुला हुने भएको छ । 

नेपाल धितोपत्र बोर्डले यो म्युचुअल फण्डलाई इकाई निश्कासनको अनुमति दिएपछि यसको बिक्री खुला गर्न लागिएको हो । एनएमबी क्यापिटल मार्केट लिमीटेडबाट प्रवद्र्धन हुने यो स्किमलाई १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई निश्कासनको अनुमति दिइएको हो । 

यो फण्ड बन्दमुखी योजना हो ।  यो फण्डको प्रायोजन एनएमबी बैंकले गरेको छ। 

प्रति इकाइ रु. १० दरको १२ करोड इकाइमध्ये बिज पुँजीबापत न्यूनतम १ करोड ८० लाख वा कुल बिक्री भएको इकाइ संख्याको १४ प्रतिशत इकाइ कोष प्रवद्र्धक कम्पनी एनएमबी लिमिटेड तथा १ प्रतिशत इकाइ योजना व्यवस्थापक कम्पनी एनएमबी क्यापिटल लिमिटेडका लागि सुरक्षित राखिएको छ भने बाँकी १० करोड २० लाख इकाइ सार्वजनिक रुपमा बिक्री लागि खुला गरिने भएको हो । 

लगानीकर्ताले न्यूनतम १ सय इकाइ र अधिकतम १ करोड २० इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । यो फन्ड निष्कासन बन्द छिटोमा साउन १६ गते र ढिलामा भदौ १० गने हुनेछ ।

एनएमबी क्यापिटलबाट प्रवद्र्धित एनएमबी हाइब्रीड फण्ड एल वान र एनएमबी सुभल इन्भेष्टमेन्ट फण्ड वान हाल बजारमा छन् । नयाँसहित एनएमबीका ३ वटा स्किम बजारमा हुनेछन् ।

दोश्रो बजारमा एनएमबी हाइब्रीड फण्ड र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डको न्याभ क्रमशः ११.०९ र १२.०८ रुपैयाँ रहेको छ । 

चालु आर्थिक वर्षको बोर्डले नवील ब्यालेन्स फण्ड २, सिटिजन्स म्युचुअल फण्ड २ ले बन्दमुखी स्किमको रुपमा निश्कासन स्वीकृति पाइसकेका छन् । नवीलको इकाई बिक्री भइसकेको छ भने सिटिजन्सको बिक्रीको चरणमा छ । 

बोर्डले चालु आबमै देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्डको रुपमा एनआइबिएल सहभागिता फण्डलाई समेत इकाई निश्कासनको अनुमति दिएको छ । 

यीबाहेक अन्य ४ वटा म्युचुअल फण्ड धितोपत्र बोर्डको स्वीकृतिको प्रतिक्षामा छन्।