काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण साउन १ गतेदेखि गर्ने भएको छ । यसको पूर्वसन्ध्यामा ब्रोकरहरुले लगानीकर्तालाई यूजर नेम र पासवर्ड आएर लिन आग्रह गरेका छन् । 

नेप्सेले यसअघि सार्वजनिक गरेको तालिका अनुसार साउन १ गतेदेखि अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षण सुरु हुनेछ । यही मितिदेखि लगानीकर्ताले समेत अनलाइन कारोबार प्रणाली चलाउन पाउनेछन् । 

नेपाल स्टक एक्सचेञ्जका निराजन फूयाँलका अनुसार साउन १ गतेदेखि आफ्ना ब्रोकरकोमा गएर यूजर नेम तथा पासवर्ड लिएपछि लगानीकर्ताले अनलाइन प्रणालीमा प्रवेशको अवसर पाउनेछन् । पूर्ण परीक्षणकालको सुरुवात भएकोले उनीहरुले साउन १ गतेदेखि नै आफ्ना ब्रोकरहरुलाई अनलाइन खरीद वा बिक्रीको अर्डर भने दिनसक्ने छैनन् । 

'परीक्षणका लागि लगानीकर्ताले यूजर नेम र पासवर्ड लिनु पर्छ । तर परीक्षण अवधिभर उनीहरु आफैंले अर्डर इन्ट्री गर्न भने पाउँदैनन् ।' फूयाँलले बिजशालासँग भने-'अहिले जसरी ब्रोकरलाई अर्डर दिन्छन् त्यसरी नै दिनुपर्छ, तर त्यो अर्डर कसरी कसरी एक्जिक्यूट भयो भन्ने कुरा चाहि लगानीकर्ताले हेर्न सक्छन् ।' 

उनका अनुसार अर्डर दिने बाहेकका सबै काम अनलाइनमै हुन्छ । युजर एसेप्टेन्स टेष्ट(युएटी)नभई अनलाइन प्रणाली भ्यालिड हुन्न । यूएटीका लागि २ वटा कम्पनी छनौट भइसकेका छन् । 

यसको अर्थ साउन १ गतेदेखि लगानीकर्ताले अनलाइन अर्डर दिन्न पाउँदैनन्, तर अर्डर दिइसकेपछि कसरी अगाडि बढ्छ, के के काम हुन्छ भन्ने कुरा चाहि हेर्न पाउँछन् । यसरी हेर्दा साउन १ गतेदेखि पूर्ण परीक्षण सुरु हुने अनलाइन प्रणालीमा प्रवेश गरेर लगानीकर्ताले पनि कारोबार गर्न सिक्नेछन् । यूएटी अवधिभरि लगानीकर्ताका लागि पुरानो सिस्टम समेत समानान्तर ढंगले लगिनेछ । जानकारहरुका अनुसार यसलाई अझ राम्रोसँग भन्दा साउने १ देखि लगानीकर्ताले अहिलेकै तरिकाले अर्डर दिन्छ, त्यो अर्डर कसरी म्याच भयो, त्यसपछि कस्तो रिपोर्ट पायो भन्ने कुरा लगानीकर्ताले आफ्नो टर्मिनलमा हेर्ने सुविधा पाउँछ ।  

नेप्सेले पूर्व प्रतिबद्धताअनुसार आगामी साउन १ गतेदेखि नै नयाँ अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षण सुरु हुनेछ । यसअघि भनिएजस्तै सुरुवातमा पुरानो र नयाँ कारोबार प्रणालीलाई सामानान्तर रुपमा अगाडि बढाइनेछ । 

पूर्व निर्धारित समयतालिका अनुसार प्रणाली निर्माता कम्पनी वाइको प्रालिबाट आवश्यक सबै मोड्यूलहरु एकीकृत रुपमा तयार भइसकेको छ । कारोबारमा सम्बद्ध पक्षहरु धितोपत्र दलाल, सिडिएससी, क्लियरिङ बैंक र लगानीकर्तासँग समेत औपचारिक तथा अनौपचारिक छलफल भइसकेको छ । यो सिलसिलालाई जारी राख्दै पूर्ण स्वचालित कारोबार प्रणाली सफला पूर्वक कार्यान्वयनमा ल्याउन समय तालिका नै तोकिएको थियो ।