काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आगामी साउन २९ गतेदेखि साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ । 

यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यमा १ सय २० रुपैयाँ प्रिमियम थपी प्रति कित्ता २२० रुपैयाँको दरले एफपीओ निश्कासन हुन लागेको हो । 

पोखरा फाइनान्स लिमीटेडले बुधबार एफपीओ सम्बन्धी एक आह्वानपत्र प्रकाशित गर्दै २९ गतेदेखि बिक्री खुल्ला हुने एफपीओमा भदौ १  गतेसम्म तोकिएका स्थानमा आवेदन दिन आह्वान गरेको छ । यो अवधिसम्म माग गरे अनुसारको आवेदन नआए दरखास्त दिने अधिकतम मिति भदौ ११ गतेसम्मलाई तोकिएको छ। 

यो फाइनान्सले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासन गर्ने भएको बताइएको छ। 

यो कम्पनीको अधिकृत पूँजी ९४ करोड रुपैयाँ रहेको छ भने जारी पूँजी ६५ करोड ५७ लाख रुपैयाँ रहेको छ । ५५ करोड ५० लाख चुक्तापूँजी रहेकोमा एफपीओपछि ६५ करोड ५७ लाखको उचाईमा पुुग्नेछ । 

एफपीओ बिक्रीपछि संस्थामा संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व संरचना ५१ : ४९ प्रतिशतमा रुपान्तरण हुनेछ । प्रिमियमबापत प्राप्त ११ करोड ८० लाख रुपैयाँ यो फाइनान्सको सञ्चित कोषमा जम्मा हुनेछ । 

एफपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमीटेड रहेको छ । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट धितोपत्रको दरखास्त संकलनका लागि अनुमतिप्राप्त बैंक तथा बित्तीय संस्थाहरु(आस्वा सदस्य) तथा तिनका सबै शाखा कार्यालयबाट एफपीओका लागि आवेदन दिनसक्ने बताइएको छ । 

डूूब्ने खतरा !
देशको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पोखरा फाइनान्स लिमीटेडको एफपीओलाई ‘आइपीओ ग्रेड फोर’को रेटिङ प्रदान गरेको छ । 

यो रेटिङले पोखरा फाइनान्स आधारभूत रुपमा कमजोर कम्पनी रहेको इंगित गर्छ । यसर्थ, यस्ता कम्पनीको एफपीओमा लगानी गरे डूूब्न सकिन्छ । 

इक्रा नेपालले कम्पनीको अवस्था हेरेर रेटिङ दिने गरेको छ । राम्रो अवस्थाको कम्पनीलाई १,२ र ३ सम्मको रेटिङ दिइन्छ भने अवस्था कमजोर रहेका कम्पनीलाई ४ र ५ को रेटिङ प्रदान गरिन्छ। यो फाइनान्सको पछिल्लो बिक्री मूल्य प्रतिकित्ता २ सय ६३ रुपैयाँ मात्र रहेको छ ।