काठमाण्डौ । नेपाल हाइडो डेभलोपर लिमीटेडले आगामी साउन २७ गतेदेखि साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका ३ लाख ९० हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो । 

साउन २७ गतेदेखि निश्कान हुने आइपीओ खरीदका लागि ३२ गतेसम्म आवेदन दिनुुपर्ने कम्पनीले बुधबार आह्वानपत्र सार्वजनिक गर्दै जनाएको हो । सो अवधिमा माग अनुसारको आवेदन नपरे अधिकतम मिति भनेर भदौ २५ गतेसम्मलाई तोकिएको छ ।

कुल निश्कासन हुने आइपीओमध्ये ७ हजार ८ सय कित्ता कर्मचारीका लागि र १९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी कित्तामा सर्वसाधारणले आवेदन दिनसक्नेछन् । 

दोलखामा ३.५२ मेगावाट क्षमताको चर्नावती जलविद्युत आयोजना निर्माणमा आवश्यक खर्च जुटाउन आइपीओ जारी गरिएको कम्पनीले स्पष्ट पारेको छ । 

यो कम्पनीको चुक्तापूँजी हाल २२ करोड १० लाख रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्तापूँजी बढेर २६ करोडको उचाईमा पुुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी ६० करोड रहेको छ । आइपीओ निश्कासनपछि कम्पनीमा सेयर स्वामित्व संरचना संस्थापक : आयोजना प्रभावित क्षेत्रका बासिन्दा:सर्वसाधारणको ७५ः१०ः१५ प्रतिशत कायम हुनेछ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।