काठमाण्डौ । तेह्रौँ दक्षिण एसियाली खेलकुल (साग) का अवसरमा ट्राफिक व्यवस्थापन गर्न काठमाण्डौको रिङरोड (चक्रपथ) भित्र चल्ने यातायातका साधनमा दुई दिन जोर–बिजोर प्रणाली लागू हुने भएको छ ।

साग सुरक्षा उपसमितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा यही मंसिर १५ गतेदेखि २४ गतेसम्म हुने साग खेलकुद प्रतियोगिताको व्यवस्थापन गर्न दुई दिन चक्रपथभित्र चल्ने सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्न लागिएको जानकारी दिइएको हो । समितिका अनुसार मंसिर १५ गते ‘बिजोर’ र मंसिर २४ गते ‘जोर’ नम्बर प्लेटका सवारीसाधनमात्र चक्रपथभित्र चल्ने दिइनेछ ।

साग उद्घाटन मंसिर १५ गते हुँदैछ । यो दिन बिजोर नम्बरका सवारीसाधनमात्रै सञ्चालन गर्न पाइनेछ । त्यस्तै समापन मंसिर २४ गते हुनेछ । यो दिन जोर नम्बरप्लेटका सवारीमात्र सञ्चालन गर्न पाइनेछ ।

यी दिन ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न र अनावश्यक हर्न प्रयोग गर्न प्रहरीले निर्देशन दिएको छ । 

त्यस्तै  यी दिन अत्यावश्यक सवारीसाधन र सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने जोर–बिजोर प्रणाली लागू हुने छैन ।