सरकारले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनलाई सुधार गर्न आफूले साझा यातायातमा शेयर लगानी गरेको प्रष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले शहरी यातायातलाई व्यवस्थित बनाउँदै ठूला क्षमताका यातायात प्रणाली विकास गर्ने चासोका साथ साझा यातायातलाई नेपाल सरकारको शेयर लगानीका रुपमा रु तीन अर्ब उपलब्ध गराइएको बताउनुभयो । 
 
राजधानीमा ठूला बस सञ्चालनमा आएसँगै निजी सवारी साधन नभएका सर्वसाधारणलाई सुलभ, सजिलो, सस्तो र आधुनिक सेवा उपभोग गर्न सहज हुने उहाँको भनाइ थियो । “काठमाडौँको सार्वजनिक यातायात व्यवस्थापन कति अप्ठ्यारो छ भन्ने हामी सबैले भोगेको कुरा हो”, सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भन्नुभयो, “साना सवारी साधनले काठमाडौँका नागरिकका माग धान्न नसक्ने देखिएकाले राज्यले ठूला सवारी सधान चलाउनुपर्छ भनेर साझा यातायातलाई रकम दिइएको हो ।” 
 
“पहिला पनि साझाले सफलता हासिल गरेको हो, यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्नुपर्छ”, साझा यातायात पछिल्ला समय वित्तीय सङ्कटबाट गुज्रिरहेको भन्ने खबरप्रति लक्षित गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “अब साझाले आफ्नो आर्थिक स्वास्थ्य सुधार गर्नुपर्छ ।”
 
रुपन्देहीमा गौतमबुद्धको मूर्ति तोडफोड भएका विषयमा सम्बन्धित निकायले छानबिन गरिरहेको उल्लेख गर्दै उहाँले घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउने काम भइरहेको बताउनुभयो । “आशङ्कातर्फ जानुभन्दा पनि बदमासी कसले र के उद्देश्यले गरेको भन्ने थाहा पाउनु आवश्यक हुन्छ”, उहाँले भन्नुभयो, “यसलाई अहिले नै धार्मिक सहिष्णुता माथिको आक्रमण भनेर प्रश्न उठाउनु आवश्यक छैन ।”
 
नेपाल बहुभाषिक, बहुधार्मिक मुलुक हुनुका साथै दशभन्दा ठूला धर्म मान्ने नागरिक र हजारौँ मठ, मन्दिर, चैत्य, गुम्बालगायत धार्मिकस्थल रहेको दोहो¥याउँदै मन्त्री बाँस्कोटाले एउटा घटनालाई लिएर धार्मिक सहिष्णुतालाई खलल पर्छ भन्ने ठान्न नहुने बताउनुभयो । “घटनाको अनुसन्धान भएपछि घटना कसले र किन गराएको भन्ने खुल्दै जान्छ”, उहाँले भन्नुभयो, “सहिष्णुता भड्काउन सम्भव छैन ।”
 
सरकारले आफ्ना सम्पूर्ण गतिविधिलाई पारदर्शी राखेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले जनताको पक्षमा गरिएका कुनै पनि निर्णय सरकारले नलुकाएको प्रष्ट पार्नुभयो । “दैनिक प्रशासनसँग जोडिएका विषयको फेहरिस्त दिन आवश्यक हुँदैन”, सरकारले किन सूचना लुकाएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उहाँले भन्नुभयो, “सरकारले गरेका मुख्यमुख्य, नीतिगत निर्णय सार्वजनिक गरिएको छ ।”
 
सूचना लुकाउनुपर्ने खास कारण नभएको प्रष्ट पार्दै मन्त्री बाँस्कोटाले सूचना सार्वजनिक गर्न सरकार नडराएको बताउनुभयो । “आम नागरिकको जानकारीका लागि सरकारले सूचना सार्वजनिक गर्दै आएको छ, ती सूचना सञ्चार माध्यममार्फत जनतासमक्ष पुग्ने गरेको छ”, उहाँले भन्नुभयो, “बरु कहिलेकाहीँ सञ्चार माध्यमले सूचना लुकाइदिएको हुन्छ । किन लुकाएको भनेर सरकारको प्रश्न गरेको छैन ।” प्रत्येक नागरिकलाई आफूलाई चाहिएको सूचना पाउने संवैधानिक हक रहेको उल्लेख गर्दै उहाँले सार्वजनिक निकायबाट जो कसैले पनि निवेदन दिएर आफूलाई चाहेको सूचना लिन सक्ने बताउनुभयो ।
 
‘शक्ति सञ्चयका लागि विप्लवसँग वार्ता हुँदैन’
सरकारले शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने प्रतिबद्धता जनाएमात्र नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहसँग वार्ता गर्न सकिने दोहो¥याएको छ । सरकारले वार्ताको नाउँमा शक्ति सञ्चय गर्ने, क्षयीकरण भएको शक्ति पुनःताजगी गर्ने उद्देश्यले सो समूहसँग वार्ता गर्न नसकिने प्रष्ट पारेको छ । 
 
“सरकार वार्ता गर्न तयार छ, तर एजेण्डाविहीन वार्ता हुँदैन”, सरकारका प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “दाउपेच र शक्ति सञ्चयका लागि वार्ता सम्भव छैन, ‘छक्का पञ्जा’ गर्ने उद्देश्यले वार्ता हुँदैन ।” उहाँले विप्लव समूह हिंसा छाडेर, संविधान मानेर शान्तिपूर्ण प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाएर आएमा एक मिनेटमा समाधान निस्कने बताउनुभयो । “स्पष्ट गन्तव्यसहित वार्तामा आउनुहोस्, सरकार सधैँ छलफल गर्न तयार छ”, मन्त्री वाँस्कोटाले भन्नुभयो ।