काठमाण्डौ । अहिले नेपालको सार्वजनिक क्षेत्रमा सञ्चालन भएका सवारी साधनहरुमा सुधारको सुरुवात भएको छ । 

नेपाल सरकारले ४० सिट वा सोभन्दा बढी क्षमताका ठूला सवारी साधनको आयातलाई प्राथमिकता दिने ब्यवस्था गरेअनुसार दुप्चेश्वर यातायात प्रा.लि.ले  अत्याधुनिक र सुविधासम्पन्न बसहरु बुधबारदेखि काठमाण्डौको चक्रपथ क्षेत्रमा संचालन गरेको छ । 

यी बसहरु चक्रपथमा गुुडेसँगै साझा यातायातका लागि निकै ठूलो चुनौति हुने र अत्याधुनिक सेवाले यात्रुहरुले भने धेरै सुविधा पाउने विश्वास गरिएको छ । 

व्यवसायीले अशोक लेलैण्ड कम्पनीका सुविधा सम्पन्न लिङ्कस स्मार्ट मोडेलका बसहरु आयात गरी संचालनमा ल्याएका हुन् । 

यी बसहरुमा ४० सिट क्षमता, सिसि टिभि क्यामरा, एल इ डि टिभि सुविधाको ब्यवस्था गरिएको छ । साथै, सिसिटिभि जडान गरिएकोले पकेट मार्ने तथा गैरकानूनी कार्य गर्ने निरुत्साहित हुने दाबी गरिएको छ ।  

निजी क्षेत्रका ब्यवसायीको पहलमा दुप्चेश्वर यातायात प्रा.लि., चौमति, बालाजुस्थित कम्पनीद्वारा आयात गरिएको अशोक लेलैण्डका “अरेन्ज” बसहरु यात्रुको सेवाका लागि ल्याउन पाउँदा आफूूहरु हर्षित भएको कम्पनीका अधिकारीहरुले बताएका थिए । 

यसअघि साझा यातायातले पनि यस्तै बसहरु ल्याएर काठमाण्डौमा संचालन गरिरहेको छ । व्यवसायीहरुको यस्तो प्रतिस्पर्धाका कारण यात्रुहरुले अझ बढी अत्याधुनिक र सहज सेवा प्राप्त गर्ने विश्वास गरिएको छ ।