काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले सञ्चयकोषका सञ्चयकर्ताका लागि जारी गरेको आइपीओमा ४ अर्ब १७ करोड २२ लाख ५३ हजार १ सय रुपैयाँको आवेदन परेको छ।

पहिलो चरणमा निश्कासित ७१ करोड १७ लाख ५० हजार ७०० रुपैयाँ मूल्यको आइपीओमा देशभरबाट १ लाख ८३ हजार २ सय ३५ आवेदकले ४ अर्ब १७ करोडको हाराहारीमा खरीद प्रस्ताव गरेका हुन् ।

यो हिसाबले साञ्जेनको आइपीओमा मागभन्दा करिब ६ गुणा बढी आवेदन परेको देखिएको छ । 

कुल ८७ लाख ६० हजार कित्ता सेयरमध्ये पहिलो चरणमा निश्कासन ७१ लाख १७ हजार ५ सय कित्ता सेयर निश्कासन गरिएको थियो । 

यो कम्पनीले पहिलो चरणमा फागुन ११ देखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि आइपीओको बिक्री खुलाएको हो । उनीहरुलाई न्यूनतम ५० देखि अधिकतम ३०० कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था मिलाइएको थियो । २०७४ मंसिर २२ गतेसम्म कर्मचारी सञ्चयकोषको सदस्य रहेका र मंसिर २६ गतेसम्म नयाँ सदस्यको रुपमा दर्ता भएकाहरुले साञ्जेनको आइपीओमा आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

दोश्रो चरणमा साञ्जेनले संस्थापक सेयरधनी रहेका कम्पनीका कर्मचारीहरुका लागि र लगानी गर्ने कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि आइपीओ निश्कासन गर्ने योजना बनाएको छ । आगामी चैत ५ देखि १३ गतेसम्म दोश्रो चरणमा १२ लाख ७७ हजार ५ सय कित्ता साधारण सेयर संस्थापक सेयरधनी रहेका कम्पनीका कर्मचारीका लागि निश्कासन हुनेछ । उनीहरुले न्यूनतम ५० देखि अधिकतम ३०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

यस्तै, दोश्रो चरणमै कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि समेत ३ लाख ६५ हजार कित्ता सेयर निश्कासन हुनेछ । उनीहरुले भने न्यूनतम ५० देखि अधिकतम १००० कित्तासम्म आवेदनका लागि सुविधा पाएका छन् ।

मुख्य बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार दोश्रो चरणको आइपीओ समेत जारी गरिसकेपछि दुवै चरणमा परेका आवेदनहरुको बाँडफाँड मिति एकैसाथ तोकिनेछ ।