काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेडलाई धितोपत्र बोर्डले सर्वसाधारणमा ५४ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ । 

यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासनको अनुमति दिएको हो । 

यो कम्पनीले पुस ४ गते बोर्डमा आइपीओ निश्कासनको माग गर्दै आवेदन दिएको थियो । 

यो कम्पनीलाई आवेदन दिएको तीन महिना ६ दिनपछि आइपीओ निश्कासनको अनुमति दिइएको हो । 

कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले ग्रेड फोर प्लसको रेटिङ दिएको छ । 

इक्रा नेपालले औसत भन्दा तल आधारहरु जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड फोर प्लस’को रेटिङ प्रदान गरेको हो ।

इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ । 

यो कम्पनी चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी हो ।

साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु सात अर्ब बढी रहेको छ ।