काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर लिमीटेडले निश्कासन गर्न लागेका आइपीओको आह्वानपत्र प्रकाशन गरेका छन् । 

साञ्जेन जलविद्युत कम्पनीले १०० रुपैयाँ अंकित दरका ८७ लाख ६० हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो । यो कम्पनीको आइपीओ पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि फागुन ११ देखि ३० गतेसम्म निश्कासन हुनेछ । यस्तै, कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय निकायका कमचारी तथा ऋणदता संस्थाका कर्मचारीहरुका लागि दोश्रो चरणमा चैत ५ देखि १३ गतेसम्म आइपीओ निश्कासन हुनेछ । 

कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीहरुका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम ३००  कित्तासम्म आइपीओ खरीद गर्न पाइने व्यवस्था गरिएको छ । यस्तै, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुले पनि न्यूनतम ५० देखि अधिकतम ३०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

ऋणदाता संस्थाका कर्मचारीहरु(कर्मचारी सञ्चयकोष)का लागि भने न्यूनतम ५० देखि अधिकतम १००० कित्तामा आवेदन दिने पाइने सीमा तोकिएको छ । 

साञ्जेनले कर्मचारी सञ्चयकोषसँग ०६८ मंसिर २२ गते त्रिपक्षीय ऋण सम्झौता हुँदाका बखत बहाल रहेका र विवरणपत्र स्वीकृत मिति २०७४ मंसिर २६गतेसम्ममा थप भएका कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीहरुका लागि ७१ लख १७ हजार ५ सय र संस्थापक सेयरधनी संस्था कर्मचारीहरुका लागि १२ लाख ७७ हजार ५ सय कित्ता छुट्याइएको छ । 

यो कम्पनीको आइपीओ खरीद गर्नेले साधारण सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री गर्न पाउने छैनन् । 

कम्पनीका चुक्तापूँजी १ अर्ब ८६ करोड रहेकोमा आइपीओपछि २ अर्ब ७३ करोड रुपैयाँको उचाईमा पुुग्नेछ । 

यो कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानीकोष रहेको छ । यस्तै, सह निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, एनएमबी क्यापिटल, प्रभू क्यापिटल र सिभिल क्यापिटल लिमीटेड रहेका छन् । 

बिक्री प्रबन्धक तथा सह बिक्री प्रबन्धकका मुख्य कार्यालय तथा सी आस्वा सेवामा सहभागी बैंक तथा बित्तीय संस्थाहरुबाट दरखास्त फारम पाइने तथा त्यहीँ बुुझाउन सक्ने व्यवस्था गरिएको छ । 

यसैगरी, रसुवागढी हाइड्रोपावरले १ करोड ६४ लाख २१ ह्जार ४० कित्ता आइपीओ निश्कासन गर्न लागेको हो । जसमध्ये कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता कर्मचारीका लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता र संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २३ लाख ९४ हजार ७ सय ३५ कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख ८४ हजार २ सय १० कित्ता निश्कासन गरिएको हो । 

यो कम्पनीले पनि पहिलो चरणमा फागुन ११ गतेदेखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि र दोश्रो चरणमा चैत ५ देखि १३ गतेसम्म कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीहरु तथा ऋणदाता संस्था(कर्मचारी सञ्चयकोष)का कर्मचारीका लागि निश्कासन गरेको छ ।

कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि न्यूनतम ५० देखि अधिकतम ५०० कित्ता ता कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने संगठित संस्थाका कर्मचारीका लागि समेत न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्ता र कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम २५०० कित्तासम्म आवेदन दिनसक्ने सीमा तोकिएको छ । आइपीओपछि कम्पनीको चुक्तापुँजी बढेर ५ अर्ब १३ करोडको उचाईमा पुुग्नेछ । 

यो कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेकोछ । सह निश्कासन तथा बिक्री प्रबन्धहरुमा एनआइबिएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमीटेड रहेका छन् ।