-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा  साञ्जेन र रसुवागढी हाइड्रोपावरको सेयर  सूचीकरण साउनमा मात्रै हुने भएको छ । 

आइपीओ बाँडफाँड भएको करिब डेढमहिना बितिसक्दा हालसम्म पनि  समेत यी दुई हाइड्रोपावरको सेयर नेप्सेमा सूचिकृत भएको छैन । 

नेप्सेमा सूचीकृत भई  लगानीकर्ताहरुले खरिदबिक्री गर्न अझै अढाई महिना कुर्नुपर्ने साञ्जेन हाइड्रोपावरका सीइओ किरणकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

सूचीकरण ढिलाइ हुनुका कारणबारे बिजशालाको जिज्ञासामा श्रेष्ठले सिडिएससीमा  प्रत्येक सेयरधनीको खातामा हाल्दा ९ रुपैयाँ लागत लाग्ने उल्लेख गर्दै करिब ५ लाख सेयरधनीको खातामा डिम्याटमा राख्न र अन्य खर्च समेत जोड्दा  ५० लाख हाराहारीमा खर्च लाग्ने भएकाले ऊर्जा मन्त्रालयसँग छलफल भइरहेको बताए ।

नौ रुपैयाँ लागत धेरै महङ्गो भएको र जनताको जलविद्युत कार्यक्रम अन्तरगत निशुल्क डिम्याट खातामा राख्न ऊर्जा मन्त्रालयसँग दुवै हाइड्रोपावरको एकैचोटि सूचीकरण गर्न छलफल भइरहेको उनको भनाई छ । 

निशुल्क बनाउनका लागि समन्वय गर्न समय लाग्ने भएकाले साउनसम्म मात्र सूचिकरण हुनसक्ने उनको अनुमान छ । 

यता, यसै विषयमा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विनियमावली अनुसार नै ९ रुपैयाँ शूल्क लाग्ने बताए । ‘आज भए पनि भोलि सूचीकृत गरे पनि शूल्क उहीँ नै लाग्छ ।’ गुप्ताले भने ।