काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा  साञ्जेन र रसुवागढी हाइड्रोपावरको सेयर  सूचीकरण ढिलोमा साउन दोश्रो साताभित्र हुने भएको छ । 

आइपीओ बाँडफाँड भएको करिब अढाई महिना बितिसक्दा पनि यी दुई हाइड्रोपावरको सेयर नेप्सेमा सूचिकृत भएको छैन । 

नेप्सेमा सूचीकृत भई  लगानीकर्ताहरुले खरिदबिक्री गर्न अब बढीमा १५ दिन कुर्नुपर्ने साञ्जेन हाइड्रोपावरका एक अधिकारीले जानकारी दिए । 

सिडिएससीमा  प्रत्येक सेयरधनीको खातामा हाल्दा ९ रुपैयाँ लागत लाग्ने उल्लेख गर्दै ती अधिकारीले करिब ५ लाख सेयरधनीको खातामा डिम्याटमा राख्न र अन्य खर्च समेत जोड्दा  ५० लाख हाराहारीमा खर्च लाग्ने र पुरानो आर्थिक वर्षमा सेयर सूचिकरण हुँदा साउन लाग्ने बित्तिकै नयाँ आर्थिक वर्षको नवीकरण शुल्क समेत तिर्नुपर्ने भएकाले समेत सेयर सूचिकरणमा ढिलाई भएको बताइएको छ । 

अब भने साउन पहिलो साता रसुवागढी र साञ्जेनले सेयर सूचिकरणका लागि नेप्सेलाई पत्र लेख्नेछन् । त्यसपछि प्रक्रिया पुर्याएर यी दुवै कम्पनीको सेयर सूचिकरण हुनेछ । 

'साउन दोश्रो साताभित्र सूचिकरण भई दुवै कम्पनीको सेयर कारोबारमा आइसक्नेछ ।'-स्रोतले भन्यो ।