काठमाण्डौ । लामो समयको प्रतिक्षापछि साञ्जेन र रसुवागढी हाइड्रोपावरको सेयर दोश्रो बजारमा सूचिकरण हुने भएको छ । 

राष्ट्रिय महत्वका यी दुई जलविद्युत कम्पनीको सेयर दोश्रो बजारमा सूचिकरणका लागि सोमबार(भोलि) नेप्सेसँग सम्झौता हुने भएको हो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले सोमबार दिउँसो ३ः३० बजे साञ्जेन र रसुवागढीको सेयर सूचिकरणको सम्झौता हुने जानकारी दिए । 

आइपीओ बाँडफाँड भएको करिब साढे तीन महिनापछि यी दुई हाइड्रोपावरको सेयर नेप्सेमा सूचिकृत हुने भएको हो । 

रसुवागढीले १०० रुपैयाँ अंकित दरले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको  १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ निश्कासन गरेको थियो । 

यस्तै, साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले १०० रुपैयाँ अंकित दरका ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासन गरेको थियो । 

साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले बैशाख ६ गतेदखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेका थिए । 

साञ्जेनको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ । 

यी दुवै आयोजना कम्पनी चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी हुन् ।

साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु सात अर्ब बढी रहेको छ ।

रसुवागढीले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । 

कूल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ ।