काठमाण्डौ । राष्ट्रिय महत्वका साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर कारोबार भोलि मंगलबारदेखि हुने भएको छ ।

दोस्रो बजारमा कारोबारको तयारीमा रहेका दुवै कम्पनीलाई नेप्सेले कारोबार रेन्ज र संकेतसमेत तोकेको छ । स्रोतका अनुसार साञ्जेनले कारोबारका लागि SJCL संकेत पाएको छ भने यसको प्रिओपनिङ कारोबारका लागि रु. ९६.३२ देखि २८८.९६ प्राइस रेन्ज हुनेछ । 

त्यस्तै रसुवागढीले कारोबारका लागि RHPL संकेत पाएको छ भने यसको प्रिओपनिङ प्राइस रेन्ज ९७.२९ देखि २९१.८७ हुनेछ । 

साञ्जेनको ३ करोड २८ लाख ५० हजार कित्ता  र रसुवागढीको ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता सेयर मंगलबारदेखि कारोबारमा आउने छन् । 

लामो समयको प्रतिक्षापछि साञ्जेन र रसुवागढी हाइड्रोपावरको सेयर दोश्रो बजारमा आज सोमबार सूचिकरण हुँदैछ । जसका लागि नेप्सेमा दिउँसो ३ः३० बजे एक कार्यक्रमबीच सम्झौता हुँदैछ । 

आइपीओ बाँडफाँड भएको करिब साढे तीन महिनापछि यी दुई हाइड्रोपावरको सेयर नेप्सेमा सूचिकृत हुने भएको हो । 

रसुवागढीले १०० रुपैयाँ अंकित दरले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँबराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ निश्कासन गरेको थियो । 

यस्तै, साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले १०० रुपैयाँ अंकित दरका ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासन गरेको थियो । 

साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले बैशाख ६ गतेदखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेका थिए । 

साञ्जेनको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ ।
यी दुवै आयोजना कम्पनी चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी हुन् ।

साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु सात अर्ब बढी रहेको छ ।

रसुवागढीले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । 

कूल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३.५ प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ ।