काठमाण्डौ । राष्ट्रिय महत्वका साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरको दोस्रो बजारमा मंगलबारदेखि कारोबार सुरु भएको छ ।

दुवै कम्पनीलाई नेप्सेले सोमबार कारोबार रेन्ज र संकेतसमेत तोकेको थियो । नेप्सेसँग दुवै कम्पनीले सोमबारै सेयर सूचिकरणसम्बन्धी सम्झौता समेत गरेका थिए।

नेप्सेका अनुसार साञ्जेनले कारोबारका लागि SJCL संकेत पाएको छ भने यसको प्रिओपनिङ कारोबारका लागि रु. ९६.३२ देखि २८८.९६ प्राइस रेन्ज हुनेछ ।

त्यस्तै रसुवागढीले कारोबारका लागि RHPL संकेत पाएको छ भने यसको प्रिओपनिङ प्राइस रेन्ज रु. ९७.२९ देखि २९१.८७ तोकिएको छ ।

कारोबार सुरु भएको २० मिनेटमै रसुवागढीको १४ लाख ७ हजार ५७२ रुपैयाँबराबरको ४ हजार ९८० कित्ता सेयर कारोबार भएको छ ।

त्यस्तै साञ्जेनको २६ लाख ९० हजार ४३९ रुपैयाँबराबरको ९ हजार ७९५ कित्ता सेयर कारोबार भएको छ ।

साञ्जेनको ३ करोड २८ लाख ५० हजार कित्ता  र रसुवागढीको ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता सेयर मंगलबारदेखि कारोबारमा आएको छ ।