काठमाण्डौ । साञ्जेन र रसुवागढी हाइडोपावर कम्पनीले पहिलो चरणमा निश्कासन गरेको आइपीओको बाँडफाँड छिटोमा आउँदो सोमबारसम्म गर्ने तयारी थालिएको छ । 

दुवै कम्पनीको आइपीओमा अचाक्ली आवेदन परेको थियो । दुवै कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेका कम्पनीका अधिकारीहरुले आगामी सोमबार आइपीओ बाँडफाँडको तयारी भइरहेको जानकारी दिएका छन् । 

रसुवागढी हाइड्रोपावर कम्पनीले पहिलो चरणमा निष्कासन गरेको शेयरलाई एक साताभित्रै बाँडफाँड गर्ने लक्ष्यकासाथ तयारी भइरहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका एक अधिकारीले जानकारी दिएका छन् । 

यस्तै, साञ्जेनको आइपीओ समेत आगामी सोमबार नै बाँडफाँड गर्ने गरी काम थालिएको बिक्री प्रबन्धक नागरिक लगानीकोषले जनाएको छ । 

रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले निश्कासन गरेको १ अर्ब ३३ करोड बढी मूल्यको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयरमा अचाक्ली आवेदन परेको थियो । यो कम्पनीले पहिलो चरणमा निश्कासन गरेको आइपीओ खरीदका लागि २ लाख आवेदकले ६ अर्ब ७५ करोडको हाराहारीमा प्रस्ताव पेश गरेका हुन् । 

यो कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताहरुका लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता निश्कासन गरेको हो । 

कुल १ करोड ६४ लाख २१ हजार ४० कित्तामध्ये दोश्रो चरणमा कम्पनीको संस्थापक सेयरधनीको रुपमा रहेका संस्थापक कर्मचारी र लगानी गर्ने कर्मचारी सञ्चयकोषका कर्मचारी लागि सेयर निश्कासन गर्ने छ। यो मध्ये संस्थापक सेयरधनीको रुपमा रहेका विद्युत प्राधिकरण, चिलिमे जलविद्युत आयोजना, स्थानीय निकाय लगायतका कर्मचारीका लागि २३ लाख ९४ हजार ७ सय ३५ कित्ता र ऋणदाता संस्था(कर्मचारी सञ्चयकोष)का कर्मचारीका लागि ६ लाख ८४ हजार २ सय १० कित्ता सुरक्षित गरिएको छ ।

यस्तै, साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले सञ्चयकोषका सञ्चयकर्ताका लागि जारी गरेको आइपीओमा ४ अर्ब १७ करोड २२ लाख ५३ हजार १ सय रुपैयाँको आवेदन परेको छ।

पहिलो चरणमा निश्कासित ७१ करोड १७ लाख ५० हजार ७०० रुपैयाँ मूल्यको आइपीओमा देशभरबाट १ लाख ८३ हजार २ सय ३५ आवेदकले ४ अर्ब १७ करोडको हाराहारीमा खरीद प्रस्ताव गरेका हुन् ।

यो हिसाबले साञ्जेनको आइपीओमा मागभन्दा करिब ६ गुणा बढी आवेदन परेको देखिएको छ । कुल ८७ लाख ६० हजार कित्ता सेयरमध्ये पहिलो चरणमा निश्कासन ७१ लाख १७ हजार ५ सय कित्ता सेयर निश्कासन गरिएको थियो ।