काठमाण्डौ । एनएमबी बैंकले विगत केही दिनदेखि टप कारोबारको रेकर्ड बनाउँदै स्थिर अवस्थामै घस्रिरहेको सेयरबजार यो साताको कारोबार अन्तिम दिन बिहीबार चाहिँ झिनो अंकले बढेको छ ।

११ सय ३० अंककै चक्कर मारिरहेको सेयरबजार कारोबार मापक नेप्से इन्डेक्स माथि उक्लन निकै संघर्ष गरिरहेको छ भने कारोबार रकम भने झिनो दरले बढोत्तरी भएको छ । लगानीकर्ताहरु पर्ख र हेरकै अवस्थामा रहेकाले समेत नेप्से इन्डेक्स र कारोबार रकममा बढोत्तरी नआइरहेका बेला आज नेप्से इन्डेक्स हिजोको तुलनामा ०.७९ अंकले वृद्धि भई ११ सय ३५.९५ अंकमा यो साता बन्द भयो ।

आज स्टक एक्सचेन्जमा सूचीकृत भएका कम्पनीहरुमध्ये १६३ कम्पनीका ८ लाख ३३ हजार ८ सय ८१ कित्ता सेयर कुल २२ करोड ८३ लाख ५७ हजार ९९३ रुपैयाँबराबरको कारोबार भयो ।

साताको अन्तिम दिन आज नेप्सेका १२ वटा उपसमूहमध्ये होटल्स, विकास बैंक, अन्य तथा लघुवित्त उपसमूहमा रातो पोतियो भने बाँकी सात उपसमूहमा हरियो पोतियो ।

यो साताभरि सबैभन्दा बढी कारोबार हुने कम्पनीमा आजसमेत  एनएमबी बैंकको कारोबारले अग्रता लिएको छ । यो बैंकको मात्र ४ करोड २९ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

यसैगरी नेपाल बैंक, हिमालय डिस्टिलरी, एनआईसी एसिया बैंक र कृषि विकास बैंकको क्रमशः १ करोड ३३ लाख, १ करोड ३१ लाख, ८७ लाख र ७७ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबारको अन्तिम दिन सबैभन्दा बढी कमाउने कम्पनीमा साल्ट ट्रेडिङ कम्पनी बन्यो । यो कम्पनीको सेयरमूल्य ९.९१ प्रतिशतले बढेर प्रतिकित्ता ९४३  रुपैयाँ अन्तिम सेयरमूल्य कायम भएको छ । यसैगरी पाँचथर पावर कम्पनी लिमिटेडका सेयरधनीहरुले कारोबारको अन्तिम दिनमा आएर बढी कमाए । यो कम्पनीको सेयरमूल्यमा पनि ९.६८ प्रतिशतले बढोत्तरी आयो ।

उता सबैभन्दा बढी कम्पनीमा ग्लोबल आइएमई सम्मुनत फण्ड १ को इकाइधनीहरुले गुमाए । यो फन्डको इकाइमूल्य कारोबारको अन्तिम ५.६६ प्रतिशतले गिरावट आयो ।