काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५७ अंकले बढी १३३१.१० को विन्दूमा पुगेको छ । 

हिजो दोहोरो अंकले करेक्सन भएको बजारमा बिहीबार कारोबार खुल्नेबित्तिकै करेक्सनकै प्रवृति देखिएको थियो । आज दिनभरजसो बजारमा उतारचढावको अवस्था रह्यो । कारोबार खुलेको ३१ मिनेटमा बजार घटेर १३१२ को विन्दूमा सीमित बन्न पुगेको थियो । १२ बजेबाट बढ्न सुरु भएको बजार १२ः३८ मा १३३३ अंकसम्म पुगेको थियो । त्यसपछि सामान्य घटबढ हुँदै बजार १३३१.१० को विन्दूमा बन्द भएको हो । 

यो साताको अधिकांश दिन बढेको बजारमा करेक्सनको प्रवृति एकदिनमै मात्र सीमित रहनु र बजारमा पुनः खरीद चाप देखिनुले आगामी साताको बजार सकारात्मक बाटोतर्फ जानसक्ने संभावना देखिएको विश्लेषक बताउँछन् । उनीहरुका अनुसार बजारमा लगानीकर्ता प्रवेश गर्ने क्रम बढेसँगै उनीहरुमा सेयर खरीदको प्यास देखिएको छ, जुन प्यास हतपत मेटिने अवस्था छैन । 

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता हुनु, बैंकको ब्याजदर घट्दै जानु, बजार सुधारका लागि नियामक धितोपत्र बोर्डले केही कामहरु गर्नु, अर्थसमितिले बैंकलाई ब्रोकर लाइसेन्स दिइने गरी निर्णय गर्ने तयारी गर्नु र बजारमैत्री मौद्रिक नीति बन्दैछ भन्ने समाचार प्रवाह हुनु जस्ता कारणले लगानीकर्ताको मनोबल बलियो बन्दै गएको देखिन्छ । यहीकारण समेत बजारमा करेक्सनको प्रवृति एकदिनमै सीमित भई साताको अन्तिम कारोबार दिन नेप्सेमा पुनः खरीद चाप देखिएको हो । 

यो दिन राम्रा र बलिया कम्पनीमा केही खरीद चाप देखिएका कारण ०.४७ अंकले सेन्सेटिभ इण्डेक्स बढेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा चाहि ०.२६ अंकको बढोत्तरी भएको छ । 

आज नेप्सेका १२ उपसमूहमध्ये नौवटामा हरियाली छायो भने बाँकी ३ वटामा रातो पोतियो।

यो दिन जीवन बीमा समूहमा सबैभन्दा बढी ७०.१६ अंकको उछाल आयो भने उत्पादन तथा प्रशोधन समूहमा ३५.७८ अंक र निर्जीवन बीमा समूहमा ३२.१ अंकको बढोत्तरी भयो । यसैगरी विकास बैंक समूहमा ४.३७ अंक, जलविद्युत् समूहमा ०.८ अंक, वित्त समूहमा ४.८३ अंक, अन्य समूहमा ५.५ अंक, लघुवित्त समूहमा ९.५३ अंक र म्युचुअल फन्ड समूहमा ०.२८ अंकको बढोत्तरी भएको छ ।

यो दिन बैंकिङ समूहमा १.५९ अंक, व्यापार समूहमा १८.८ अंक र होटेल्स् समूहमा ०.५६ अंकको गिरावट आएको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आजको दिन नेप्सेमा सूचीकृतमध्ये १७८ कम्पनीका २२ लाख २६ हजार २०३ कित्ता सेयर ९० करोड ८० लाख ८६ हजार १९७ रुपैयाँ कारोबार भएको छ ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार धेरै भयो । यो कम्पनीको मात्र १५ करोड १८ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४८ लाख रुपैयाँ, छिमेक लघुवित्तको ६ करोड ४१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ४८ लाख रुपैयाँ, एनएमबी बैंकको २ करोड ७७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ४२ लाख रुपैयाँ, नबिल बैंकको २ करोड २२ लाख रुपैयाँ, शिवम् सिमेन्टको १ करोड ८० लाख रुपैयाँ, साना किसान लघुवित्तको १ करोड ८० लाख रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्सको १ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भयो ।

धेरै कमाउने, धेरै गुमाउने
आजको दिन सूर्योदय लघुवित्त, एनआईसी एसिया लघुवित्त र वोमी माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै कमाए । यी तीनै लघुवित्तका सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा बढोत्तरी आई पोजेटिभ सर्किट लाग्यो।

आज ग्लोबल आईएमई समुन्नत फन्ड स्किम–१ र नेसनल हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सबैभन्दा बढी लगभग ४ प्रतिशतको हाराहारीमा गिरावट आयो।