-दिलनाथ दंगाल
छोटकरीमा नेपालको सम्पूर्ण अर्थतन्त्रको विश्लेषण गर्ने हो भने यो गरिबलाई जीवन निर्वाह गर्न, मध्यम वर्गलाई समान्य जीवन यापन गर्न र धनीलाई सम्पत्ति लुकाउन सकस पर्ने खालको छ । भने यो देश आर्थिक, भौगोलिक, पूर्वाधार विकास, प्रशासनिक सुगमता, प्राकृतिक स्रोत र साधनको उपलब्धता आदिका हिसाबले असमान अवस्थामा रहेको छ । त्यसैगरी सातै प्रदेशहरूको अवस्था पनि समान छैन । हाम्रो देशका जनता सुत्दा भोकै सुत्छन्, तर उठ्दा एक्कासी आयस्तर बढेको नक्कली र चमत्कारिक विकासको तथ्याङ्क आउँछ । तर, पनि यो लेखमा हाल उपलब्ध तथ्याङ्कलाई लिएर सातै प्रदेशको आर्थिक लगायत अन्य अवस्था कस्तो छ भन्ने कुराको सामान्य विश्लेषण गर्न खोजिएको छ ।
 
प्रदेश १
यस प्रदेशको जनसंख्या ४५,३४,९४३ रहेको छ, जुन कुल जनसंख्याको १७.१२ प्रतिशत हुन आउँछ, क्षेत्रफलका हिसाबले २५,९०५ वर्ग किलोमिटर ओगटेको यो प्रदेशको नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार मानव विकास सूचकांक ०.५०० रहेको छ । यो प्रदेशको सूचकांक राष्ट्रिय औसत ०.४९० भन्दा बढी छ । सिविएस्ले भरखरै सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको प्रतिव्यक्ति आम्दानी १००४ अमेरिकी डलर पुगेकको अवस्थामा यो प्रदेशको औसत प्रतिव्यक्ति आम्दानी १,२११ अमेरिकी डलर रहेको छ । यो पनि नेपालको औसत प्रतिव्यक्ति आम्दानीभन्दा बढी हो । स्थानीय आयका दृष्टिकोणबाट हेर्दा १५.३९ प्रतिशत यो प्रदेशले आम्दानी गर्ने गरेको देखिन्छ । 
हाम्रो देशका जनता सुत्दा भोकै सुत्छन्, तर उठ्दा एक्कासी आयस्तर बढेको नक्कली र चमत्कारिक विकासको तथ्याङ्क आउँछ ।
वित्तीय आयोगका अनुसार आव २०७०/७१ मा राजस्व बाँडफाँडमा यो प्रदेशको ३२.९५ प्रतिशत योगदान छ, जुन सबै प्रदेशको भन्दा बढी हो । यो प्रदेशमा ५७५ ओटा उद्योगहरू र १४ ओटा जलविद्युत् आयोजना रहेका छन् भने ६५.३ हजार मानिसले रोजगारी प्राप्त गरेका छन् । मानव विकास सुचक, प्रतिव्यक्ति आय, स्थानीय आय, उद्योगको अवस्था रोजगारीको स्तर हेर्दा यो प्रदेशको अवस्था राम्रो नै देखिन्छ । राजश्व बाँडफाँडमा यो प्रदेश सबैभन्दा अगाडि छ भने आव २०६९÷७० को कृषि मन्त्रालयबाट प्रकाशित तथ्यांकलाई आधार मान्ने हो भने यो प्रदेश कृषि उत्पादनका दृष्टिकोणबाट चौथो नम्बरमा पर्छ ।
 
प्रदेश २
बारा, पर्सा, रौतहट, सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा गरी आठओटा जिल्ला समेटेर बनाइएको यस प्रदेशको जनसंख्या ४५,०४,१४५ रहेको छ, जुन कुल जनसंख्याको २०.४० प्रतिशत हुन आउँछ । क्षेत्रफलका हिसाबले ९,६६१ वर्ग किलोमिटर ओगटेको यो प्रदेशको नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार यसको सूचकांक ०.४२२ रहेको छ । यो प्रदेशको सूचकांक राष्ट्रिय औसत ०.४९० भन्दा कम छ । यो प्रदेशको औसत प्रतिव्यक्ति आम्दानी ९६७ अमेरिकी डलर रहेको छ । यो पनि नेपालको औसत प्रतिव्यक्ति आम्दानी भन्दा कम हो । 
 
स्थानीय आयका दृष्टिकोणबाट हेर्दा ११.४० प्रतिशत यो प्रदेशले आम्दानी गर्ने गरेको देखिन्छ । वित्तीय आयोगका अनुसार आव २०७०/७१ मा राजस्व बाँडफाँडमा यस प्रदेशको १०.६९ प्रतिशत योगदान छ । यो प्रदेशमा ३४३ ओटा उद्योगहरू रहेका छन् भने ४५.३ हजार मानिसले रोजगारी प्राप्त गरेका छन् । मानव विकास सूचक, प्रतिव्यक्ति आय, स्थानीय आय, राजस्व बाँडफाँट तथा विकासका आधार जलविद्युत, जडीबुटी, खानीमा यो क्षेत्र कमजोर देखिन्छ भने आव २०६९/७० को कृषि मन्त्रालयबाट प्रकाशित तथ्यांकलाई आधार लिने हो भने यो प्रदेश कृषि उत्पादनका दृष्टिकोणबाट दोस्रो नम्बरमा पर्छ । 
 
राम्रो कृषि उत्पादन र प्रशस्त उद्योगधन्दाहरुको सम्भावना हुँदाहुँदै पनि देशको झण्डारको आकारै थाहा नपाउने नेताहरुको नेतृत्व रहेसम्म यो प्रदेशले विकासको मुहार चुम्ने सपना चाँहि सपनामै सीमित रहिरहेको छ ।
 
प्रदेश ३
यस प्रदेशको जनसंख्या ५५,२९,४५२ रहेको छ, जुन कुल जनसंख्याको २०.८७ प्रतिशत हुन आउँछ । क्षेत्रफलका हिसाबले २०,३०० वर्ग किलोमिटर ओगटेको यो प्रदेशको नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार यसको सूचकांक ०.५०६ रहेको छ । यो प्रदेशको सूचकांक राष्ट्रिय औसत ०.४९० भन्दा बढी छ । यो प्रदेशको औसत प्रतिव्यक्ति आम्दानी १,३५७ अमेरिकी डलर रहेको छ । यो पनि नेपालको औसत प्रतिव्यक्ति आम्दानी भन्दा बढी हो । 
 
स्थानीय आयका दृष्टिकोणबाट हेर्दा २९.१४ प्रतिशत यो प्रदेशले आम्दानी गर्ने गरेको देखिन्छ । वित्तीय आयोगका अनुसार आव २०७०/७१ मा राजश्व बाँडफाँटमा यस प्रदेशको १९.६३ प्रतिशत योगदान छ । २०६९/७० को कृषि मन्त्रालयबाट प्रकाशित तथ्यांकलाई आधार लिने हो भने यो प्रदेश कृषि उत्पादनका दृष्टिकोणबाट पहिलोे नम्बरमा पर्छ । यो प्रदेशमा ४,३३५ ओटा उद्योगहरू र ३८ ओटा जलविद्युत् आयोजना रहेका छन् भने ३.१६ लाख मानिसले रोजगारी प्राप्त गरेका छन् । मानव विकास सूचक, प्रतिव्यक्ति आय, स्थानीय आय, कृषि उत्पादन, उद्योगको अवस्था रोजगारीको स्तरका दृष्टिकोणबाट यो प्रदेश सबैभन्दा अगाडि छ भने राजस्व बाँडफाँटमा यो क्षेत्र तीन नम्बरमा देखिन्छ ।
 
प्रदेश ४
यस प्रदेशको जनसंख्या ३१,५२,८७९ रहेको छ जुन कुल जनसंख्याको ११.९० प्रतिशत हुन आउँछ, क्षेत्रफलका हिसाबले २५,२१९ वर्ग किलोमिटर ओगटेको यो प्रदेशको नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार यसको सूचकाक ०.५०६ रहेको छ । यो प्रदेशको सूचकांक राष्ट्रिय औसत ०.४९० भन्दा बढी छ । यो प्रदेशको औसत प्रतिव्यक्ति आम्दानी १२७७ अमेरिकी डलर रहेको छ । यो पनि नेपालको औसत प्रतिव्यक्ति आम्दानीभन्दा बढी हो । स्थानीय आयका दृष्टिकोणबाट हेर्दा १३.५७ प्रतिशत यो प्रदेशले आम्दानी गर्ने गरेको देखिन्छ । वित्तीय आयोगका अनुसार आव २०७०/७१ मा राजस्व बाँडफाँटमा यस प्रदेशको २१.०३ प्रतिशत योगदान छ । यो प्रदेशमा ४५२ ओटा उद्योगहरू र २९ओटा जलविद्युत् आयोजना रहेका छन् भने २८.३ हजार मानिसले रोजगारी प्राप्त गरेका छन् । मानव विकास सूचकांकमा यो प्रदेश एक नम्बरमा पर्छ । प्रतिव्यक्ति आय, राजस्व बाँडफाँट र जलविद्युत् आयोजनाका दृष्टिकोणबाट यो प्रदेश रामै अवस्थामा छ भने स्थानीय आय, कृषि उत्पादनका दृष्टिकोणबाट कमजोर अवस्थामा छ ।
 
प्रदेश ५
यस प्रदेशको जनसंख्या ४०,४३,६९४ रहेको छ, जुन कुल जनसंख्याको १५.२६ प्रतिशत हुन आउँछ । क्षेत्रफलका हिसाबले १७,५८५ वर्ग किलोमिटर ओगटेको यो प्रदेशको नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार यसको सूचकांक ०.४५५ रहेको छ । यो प्रदेशको सूचकांक राष्ट्रिय औसत ०.४९० भन्दा कम छ । यो प्रदेशको औसत प्रतिव्यक्ति आम्दानी ९४३ अमेरिकी डलर रहेको छ । यो पनि नेपालको औसत प्रतिव्यक्ति आम्दानी भन्दा कम हो ।
 
स्थानीय आयका दृष्टिकोणबाट हेर्दा २२.४० प्रतिशत यो प्रदेशले आम्दानी गर्ने गरेको देखिन्छ । वित्तीय आयोगका अनुसार आव २०७०/७१ मा राजस्व बाँडफाँटमा यस प्रदेशको ९.८१ प्रतिशत योगदान छ । कृषि उत्पादन, स्थानीय आय र राजस्व बाँडफाँटका दृष्टिकोणबाट यो प्रदेश औसत अवस्थामा मात्र छ भने मानव विकास सूचक र प्रतिव्यक्ति आयका दृष्टिकोणबाट कमजोर अवस्थामा छ ।
 
प्रदेश ६
यो प्रदेशको जनसंख्या १२७६८७५ रहेको छ, जुन कुल जनसंख्याको ४.८२ प्रतिशत हुन आउँछ । क्षेत्रफलका हिसाबले २८९७३ वर्ग किलोमिटर ओगटेको यो प्रदेशको नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार यसको सूचकांक ०.४०९ रहेको छ । यो प्रदेशको सूचकांक राष्ट्रिय औसत ०.४९० भन्दा कम छ । यो प्रदेशको औसत प्रतिव्यक्ति आम्दानी ८०८ अमेरिकी डलर रहेको छ । यो पनि नेपालको औसत प्रतिव्यक्ति आम्दानीभन्दा कम हो । स्थानीय आयका दृष्टिकोणबाट हेर्दा १.३८ प्रतिशत यो प्रदेशले आम्दानी गर्ने गरेको देखिन्छ । वित्तीय आयोगका अनुसार आव २०७०/७१ मा राजस्व बाँडफाँटमा यस प्रदेशको ३ प्रतिशत मात्र योगदान छ । कृषि उत्पादन, स्थानीय आय र मानव विकास सूचकका दृष्टिकोणबाट सबै भन्दा कमजोर प्रदेश हो यो । राजश्व बाँडफाँट र प्रतिव्यक्ति आयका दृष्टिकोणबाट यो प्रदेश छैटौं नम्बरमा पर्छ ।
 
प्रदेश ७
यस प्रदेशको जनसंख्या २५५२५१७ रहेको छ, जुन कुल जनसंख्याको ९.६३ प्रतिशत हुन आउँछ, क्षेत्रफलका हिसाबले १९५३९ वर्ग किलोमिटर ओगटेको यो प्रदेशको नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार यसको सूचकांक ०.४१६ रहेको छ । यो प्रदेशको सूचकांक राष्ट्रिय औसत ०.४९० भन्दा कम छ । यो प्रदेशको औसत प्रतिव्यक्ति आम्दानी ६६३ अमेरिकी डलर रहेको छ । यो पनि नेपालको औसत प्रतिव्यक्ति आम्दानीभन्दा कम हो । स्थानीय आयका दृष्टिकोणबाट हेर्दा ६.७४ प्रतिशत यो प्रदेशले आम्दानी गर्ने गरेको देखिन्छ । वित्तीय आयोगका अनुसार आव २०७०/७१ मा राजस्व बाँडफाँटमा यस प्रदेशको २.८९ प्रतिशत मात्र योगदान छ । राजस्व बाँडफाँट र प्रतिव्यक्ति आयमा सबैभन्दा कमजोर प्रदेश हो यो । कृषि उत्पादन, स्थानीय आय र मानव विकास सूचकका दृष्टिकोणबाट यो प्रदेश छैटौं नम्बरमा पर्छ ।
 
माथिको तथ्याङ्कलाई हेर्दा प्रदेशका बीचमा आर्थिक असमानता रहेको देखिन्छ । प्रदेश ३ सबै तथ्याङ्कमा अगाडि छ, यो प्रदेश केन्द्रीय सरकारको आर्थिक सहयोगबिना पनि चल्नसक्ने अवस्थामा छ भने प्रदेश ६ र ७ को आर्थिक अवस्था अत्यन्तै कमजोर छ । यिनीहरूलाई सामान्य स्तरको प्रशासनिक खर्चका लागि पनि केन्द्रीय सरकारको सहयोग आवश्यक पर्छ । मानव विकासका दृष्टिकाणले प्रदेश २ को अवस्था पनि प्रदेश ६ र ७ को जस्तै दयनीय छ । बाँकी १, ४ र ५ प्रदेशहरूले सामान्य रूपमा आफ्नो प्रशासनिक खर्च धान्न सक्छन् । तर, पूर्वाधार र मानव विकास लगायतका क्षेत्रमा भने यिनीहरूलाई पनि केन्द्रीय सरकारको सहयोग आवश्यक पर्छ ।
(लेखक त्रि.वि. अर्थशास्त्रका उप–प्राध्यापक हुन्)