काठमाण्डौ । बिटक्वाइनको कारोबार नेपालमा प्रतिबन्धित छ, तर प्रतिबन्धको बाबजुद यसको कारोबारमा सयौ नेपाली लुकिछिपी लागिरहेकै छन् । सरकारले प्रतिबन्ध लगाए पनि यो क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरु हेर्दा हेर्दै मालामाल भएका छन् । एक तथ्यांक अनुसार सन् २०१० को नोभेम्बरमा बिटक्वाइनमा जसले १ लाख रुपैयाँ लगानी गरेको थियो, ७ वर्षको छोटो अन्तरालमै उसले ६२५ करोड रुपैयाँ कमाइसकेको छ । सात वर्षको अवधिमा १० रुपैयाँको बिट क्वाइनको मूल्य ६ लाख २० हजार पुगिसकेको छ । 

वैश्विक बजारमा बिटक्वाइनको मूल्य १० हजार डलरको छेउछाउ पुगिसकेको मिडिया रिपोर्टहरुमा जनाइएको छ । सन् २०१० नोभेम्बरमा बिट क्वाइनको मूल्य ०.२२ डलर थियो, अहिले ९ हजार ६ सय ५० डलर पुगिसकेको छ । डलरको आधारमा हेर्दा ७ वर्षको अवधिमा बिटक्वाइनको मूल्य ४३८६२६४ प्रतिशतले वृद्धि भइसकेको देखिन्छ । 

हाल विश्वभर १.७ करोड बिटक्वाइन छन् । बिटक्वाइनको सीमित आपूर्तिकै कारण यसको मूल्यले चमात्कारिक उचाईहरु चुमिरहेको विज्ञलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । भारतमा बिटक्वाइनको बिषयमा त्यहाँको सरकार अझै अन्यौलमै छ । यदि भारत सरकारले बिटक्वाइनको कारोबारलाई बैधानिक बनाइदियो भने त्यहाँबाट हुने अधिक मागका कारण यो डिजिटल करेन्सीको भाउ अझ माथि पुुग्नसक्ने विश्लेषकहरुले बताएका छन् । त्यो अवस्थामा नेपालका लगानीकर्ताले समेत भारतमै पुुगेर सुरक्षित लगानी गर्न थाल्नेछन् ।

के हो बिटक्वाइन ?
बिटक्वाइन खासमा अनलाइन भर्चुअल करेन्सी हो । यसको कुनै कागजी दस्तावेज हुँदैन । भर्चुअल यो करेन्सी खरीदका लागि सम्बन्धित करेन्सीको एप डाउनलोड गर्नुपर्छ । ऐपको माध्यमबाट तपाईले खाताबाट पैसा तिरेर यो करेन्सी खरीद गर्न सक्नुुहुन्छ, तर नेपालमा यसको कारोबार गर्नु अबैधानिक मानिन्छ । 

त्यसो त नेपालबाहेकका नेपालीहरुले यो करेन्सी खरीद गर्न सक्छन् । सोही एपमा गएर चाहेको समयमा यो करेन्सी बिक्री समेत गर्न सकिन्छ । भारतमा त कयौं कम्पनीले यो भर्चुअल करेन्सी खरीदका लागि आफ्नो प्लेटफर्म प्रयोग गर्ने गर्छन् । तथापि, त्यहाँको समेत सरकार र केन्द्रीय बैंकले यो डिजिटल करेन्सीलाई मान्यता दिइहालेका छैनन् ।