- भक्तराज रसाइली

काठमाण्डौ । विशेषतः उपत्यकाको पश्चिमी भेगका सेयर लगानीकर्ताहरूलाई सेवा दिने उद्देश्यले स्थापना भएको अक्सफोर्ड सेक्युरिटीज प्रालि अर्थात् ब्रोकर नम्बर ५१ मा कार्यकारी अध्यक्ष हुन्, रामकृष्ण तिवारी । 

स्टक ब्रोकर एशोसिएसनमा दुई कार्यकाल कोषाध्यक्षसमेत रहेका तिवारीले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर गरेका हुन् । नवलपरासी गैंडाकोटका तिवारी हाल काठमाण्डौ कंलकीका बासिन्दा हुन्।

बैंक अफ काठमाण्डौमा कार्यरत छँदा नेप्सेले नयाँ ब्रोकर लाइसेन्स आवेदन माग्दा आफूले प्रयास गरेको र पास भएको अनुभव तिवारीले सुनाए । ‘ब्रोकर लाइसेन्समा पहँुच भएकाले मात्र पाउने व्यापक हल्ला थियो तर सोही दिन राति ८ बजे परीक्षा दिएर ११ बजे रिजल्ट प्रकाशित भएको थियो’, उनी भन्छन्, ‘नेप्सेले पारदर्शी परीक्षा गरेकै कारण मजस्तो सामान्य मान्छे पनि ब्रोकर बन्न सफल भएँ।’ 

अक्सफोर्ड सेक्युरिटिजको स्थापना २०६५ साल पुस १६ गते भएको हो। यो कम्पनी काठमाण्डौ महानगरपालिका वडा नम्बर १३ कालिमाटीस्थित सोल्टीमोडमा रहेको छ । कार्यालय समय बिहान ९ः३० देखि बेलुकी ५ः३० खुल्छ ।

११ जना प्रमोटर रहेको कम्पनीको चुक्तापूँजी २ करोड रहेको छ । कम्पनीमा १२ जना कर्मचारी कार्यरत छन् । यसको नारायणगढस्थित लायन्स चोकमा शाखा कार्यालय पनि छ । कम्पनीले थप पाँच ठाउँमा शाखा विस्तारका लागि बोर्डसमक्ष आवेदन दिएको जनाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुल १७७ कम्पनीका ४५ करोड ३७ लाख रुपैयाँ रकमबराबरको कारोबार गरेको कम्पनीले जनाएको छ । 

गत सालदेखि डीपी सेवासमेत दिइरहेको अक्सफोर्डमा २२० जनाको डिम्याट खाता खोलिएको जानकारी दिइएको छ । कुल ४ हजार १२२ जनाको केवाईसी खाता अपडेट रहेको कम्पनीको दाबी छ ।

अक्सफोर्डमा दैनिक ५० जना हाराहारीमा लगानीकर्ताको उपस्थित रहेकामा दैनिक औसत १ सयजनाले सेयर कारोबारसमेत गर्दै आइरहेको तिवारी बताउँछन् । 

ब्रोकरहरुको भीडमा आफूलाई औसतभन्दा तलको स्थानमा रहेको बताउँदै तिवारी भन्छन्, ‘हाम्रोमा खुद्रा तथा साना लगानीकर्ताको बाक्लो भीड हुन्छ । १ प्रतिशत ठूला लगानीकर्ता छन् भने बाँकी ९९ प्रतिशत चाहिँ साना लगानीकर्ता नै हुन् ।’

ससाना कित्ता पनि चाहेको बखत ग्राहकलाई किनाइदिने भएकाले यो नै कम्पनी बलियो पक्ष रहेको तिवारी बताउँछन् । 

आफूलाई सादा जीवन उच्च विचार भएको ब्रोकरका रुपमा परिचय दिलाउन चाहने तिवारीले ब्रोकरेज पेसामा स्टक डिलर, पोर्टफोलियो व्यवस्थापन सेवा, परामर्शलगायतका सेवाहरु पनि प्रवाह गर्न पाउनुपर्ने माग राखे ।

धितोपत्र तथा रकम भुक्तानीको मामिलालाई मुख्य प्राथमिकता दिइरहेका तिवारीका अनुसार कार्यालयको काउन्टर सेवाग्राहीलाई सहजताका लागि चाँडै खोल्ने गरेको बताए । सामान्य लगानीकर्ताहरुका लागि सहजतापूर्ण ढंगले धितोपत्र खरिदबिक्रीमा सेवा दिइरहेको तिवारीको भनाइ छ ।

कारोबार रकमका आधारमा औसतभन्दा तल रहेका करिब २० ब्रोकर कम्पनीलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने जिकिर गर्दै तिवारीले सरकारी संस्थाका कारोबार औसत तल रहेका ब्रोकर कम्पनीहरुले पाउनुपर्ने अडान राखे । प्रोत्साहन प्याकेजको अभावमा व्यवसायमा स्थायीत्व नहुने तर्क सारेका उनले विगतमा पनि यस्तै भएको कारण त्यो इतिहास दोहोरिने चेतावनीसमेत दिए । 

बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, म्युचुअल फण्डले सेयर खरिदबिक्री गर्दा सबै ब्रोकरमार्पmत समानुपातिक गराउन पाउनुपर्ने उनले आग्रह गरे । यसका लागि नियामकले ठोस कदम चाल्न जरुरी रहेको उनले औंल्याए ।

पूँजीबजार बृहत् पूँजीको स्रोत भएको भन्दै तिवारी भन्छन्, ‘ब्रोकर कम्पनीहरु सबल बनाउन पूँजी बढाउन आवश्यक छ ।’

अहिलेका मितिसम्म आफ्नो कम्पनीले नियामकबाट कुनै कारबाही नभोगेको तिवारीको जिकिर छ ।

करिब डेढ प्रतिशत जनतामात्र पूँजी बजारमा सक्रिय भएको दाबी गर्दै तिवारीले सचेतना एकदमै कम हुनु चुनौती भएको बताए । बैंकिङ सेक्टरबाहेक अन्य सेक्टरको धितोपत्र छिराउन र बजार पूँजीकरण बढाउनुपर्ने तिवारीको धारणा छ ।

लगानीकर्ताका आँखामा अक्सफोर्ड सेक्युरिटीज प्रालि

शारदा पौडेल (३६ वर्ष), शिक्षक, सोल्टीमोड 

म विगत ४ वर्षदेखि सेयर बजार र अक्सफोर्डबाट धितोपत्रको कारोबार गरिरहेकी छु । घरपायक र सहज लाग्दछ । म सन्तुष्ट छु । म यसलाई १० नम्बरमा १० नै दिन्छु ।

रामकृष्ण थापा (२२ वर्ष), विद्यार्थी, गोंगबु 

विगत २ वर्षदेखि सेयर बजार छिरेको मैले यहाँबाट सेवा डेढ वर्षदेखि लिइरहेको छु । यहाँको सबै सुविधाहरु राम्रो छ । म यसलाई १० नम्बरमा १० नम्बर नै दिन्छु ।

देवराज महत (४९ वर्ष), पूर्वपर्यटन व्यवसायी, नैकाप

दस वर्षदेखि सेयर बजारमा रहेको सक्रियता हो भने यहाँबाट कारोबार गर्न थालेको ५ वर्ष भयो । सेवासुविधा ठीकै छ । म सन्तुष्ट नै छु । अब मार्जिन लेन्डिङ सुविधा लिन पाए हुन्थ्यो । म यसलाई १० नम्बरमध्ये ९ नम्बर दिन चाहन्छु ।

विष्णुप्रसाद अर्याल (६० वर्ष), पूर्वपर्यटन व्यवसायी, कलंकी

पन्ध्र वर्षअघि सेयर बजारमा पाइला टेकेको मैले यहाँबाट सेवा लिँदै आएको साढे ६ वर्ष भयो । यहाँ रहेका सबै कर्मचारीहरुको व्यवहार राम्रा छन् ।  म सन्तुष्ट नै छु । म यसलाई १० नम्बरमध्ये ९.८० नम्बर दिन्छु ।

यस्तो छ थप लगानीकर्ताको कम्पनीप्रतिको रेटिङ

सिर्जना चौंलागाईं, जागिरे, कपन 

१०/१०

सन्तोष पोखरेल, रियल स्टेट व्यवसायी, सतुगंल

८.८०/१०

खुमकान्त लम्साल, रिटायर्ड बैंकर, कीर्तिपुर

८/१०

सिर्जना तिमिल्सिना, व्यापारी, सुनाकोठी

७/१०